सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

अफजल खान
असोज ३,गुलरिया ,विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले बर्दियाका दुई मस्जिदले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन्।

गुलरिया नगरपालिका–६ मा रहेको सुन्नी जामा मस्जिद र गुलरिया नगरपालिका–७ मा रहेको छोटी जामा मस्जिदले संयुक्त रूपमा उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले मस्जिदका तर्फबाट रकम सहयोग गरिएको हो। सामाजिक तथा मानवीय सेवामा धार्मिक संस्थाहरूको समेत महत्वपूर्ण भूमिका रहने भन्दै मस्जिद व्यवस्थापन पक्षले विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको जनाएको छ।मुस्लिम समुदायका अगुवा र मस्जिदका धर्म गुरुहरुको अगुवाईमा बाढी पीडितका लागि रकम संकलन गरिएको थियो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासनमार्फत सरकारलाई बुझाईएको छ । गुलरिया नगरपालिका वडा नंम्बर ६ र ७ स्थित रहेका २ वटा मस्जिद र मुस्लिम समुदायबाट संकलित भएको रु २१ हजार ५ सय २५ जम्मा बैंक भौचर सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई हस्तान्तरण गरिएको छ।
सुन्नी जामा मस्जिद र छोटी जामा मस्जिदको संयुक्त पहलमा गरिएको उक्त सहयोगले विपद्का बेला समुदायबीचको सहकार्य र सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।






