Trend
मंगलबार , मंग्सिर ३, २०८२
बर्दियामा वन विनाश र सरकारी रकम दुरुपयोगबारे अख्तियारमा उजुरी

अफजल खान

 बर्दिया / भदौ ७ /  बर्दियामा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न भनी वन जंगल नापी रहेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएकाे छ ।

जिल्लाकाे गुलरिया नगरपालिका वडा नं.७ निवासी हरित अभियन्ता तथा कृषि पत्रकार कमल राज पौडेल देव कमलले भूमि ऐन र सर्वोच्च अदालतको आदेश विपरीत भूमि समस्या समाधान आयोग र ८ वटै स्थानीय तहलाई वन जंगल नपाई वन विनाश गर्नुका साथै सरकारी रकम दुरुपयोग गरेकाे आराेप लगाउँदै अनुसन्धान आयोग कार्यालय बुटवल अन्तरगत सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी दर्ता गर्नु भएकाे हाे ।

निवेदनमा बर्दियाका आठ स्थानीय तहहरूले वन क्षेत्रलाई उपेक्षा गर्दै अनियमित ढंगले जग्गा वितरण गरेको दाबी गरिएको छ । आयोगले संविधान, भूमि ऐन र सर्वोच्च अदालतले बारम्बार दिएको आदेश विपरीत निर्णय गर्दै वातावरणीय क्षति पुर्‍याएको र सरकारी रकम समेत दुरुपयोग गरेको पौडेलले निवेदनमा उल्लेख गर्नु भएकाे छ ।

“वन र जंगललाई जग्गा वितरणका नाममा विनाश गरिँदै छ। यो केवल वन विनाश मात्र होइन, सरकारी स्रोत र रकमको दुरुपयोग समेत हो,” पौडेलले निवेदन मार्फत भन्नुभयाे ।

सुकुम्बासी समस्याको दीगो समाधान खोज्नुपर्ने भए पनि वन मासेर गरिएको व्यवस्थापन गैरकानुनी र अस्थायी देखिने पौडेलको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय बर्दियालाई बोधार्थ बनाउँदै दर्ता गरिएकाे निवेदनमा पौडेलले दोषी निकाय र व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न अख्तियारसँग माग गर्नुभएकाे छ । साथै, भविष्यमा यस्ता गैरकानुनी गतिविधि दोहोरिन नदिने गरी कडाइका साथ नियमन गर्नुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP