डीएनए परीक्षणको लागि आफन्तको नुमना संकलन

अफजल खान
बर्दिया,भदौ २२
रसुवाको बाढीमा सम्पर्कविहीन बनेका आफन्तको नमुना संकलन गरिएको छ । बर्दिया अस्पतालको प्राविधिक सहयोगमा प्रहरीले आइतबार सम्पर्कविहीनका आफन्तको डीएनए परीक्षणको लागि नमुना संकलन गरेको हो । बाढीमा परी बर्दियाका ७६ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीनका आमा,बुवा, वा छोरा छोरी मध्ये एक जनाको डीएनए परीक्षणको लागि नमुना संकलन गरिएको छ ।
भदौ १० गतेको बाढीपछि छोरा राजकुमार थारु सम्पर्कविहीन रहेको गेरुवा गाउँपालिका–२ का कृश्नीया थारुले बताउनुभयो । उहाँले भन्नुभयो,‘हालसम्म छोरा सम्पर्कमा नआउँदा परिवारका सबै सदस्य दुःखी छौं । सुरुङमा फसेका मान्छेहरुको दश/एघारौं दिनसम्म जीवितै उद्दार हुँदा सम्पर्कविहीन छोराको पनि सकुशल उद्दार हुने आशा पलाएको छ ।’
सम्पर्कविहीन छोरा खुसीराम थारुको खोजीको लागि चारैतिर दौडिरहेको गेरुवा गाउँपालिका–३ की कृष्णा कुमारी थारुनीले बताउनु भयो । उहाँले भन्नभयो,‘छोराको पहिचानको लागि नमुना दिएको छु । छोराको खोज उद्दारको लागि सरकारसंग निकायसंग गुहार लगाईरहेको छु । छोराको अवस्था बारेमा सरकारले छिटै जानकारी गराउने विश्वासमा छु ।’
सम्पर्कविहीनको पहिचानको लागि डीएनए परीक्षणको लागि आफन्तको नमुना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो । उहाँको अनुसार आइतबार ५५ जनाको नमुना संकलन गरिएको छ । यस्तै ७६ जना सम्पर्कविहीन मध्ये १० जनाको आफन्तले नेपाल प्रहरी अस्पताल, एक जनाको आफन्तले रसुवा, एक जनाको आफन्तले चितवन, तीन जनाको आफन्तले बाँकेमा नमुना दिईसकेका छन् । यस्तै परीक्षणको लागि नमुना नदिएको परिवारसंग सम्पर्क गरिरहेको उहाँले जानकारी दिनुभयो ।






