२७ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको कालिमाटी क्षेत्रको सडक ३ असार २०८० मा राताम्य थियो । कारण थियो– बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीले गोलभेँडा सडकमा फ्याक्नु ।
बिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभेँडा फ्याँकेका थिए ।
त्यो बेला कालिमाटी क्षेत्रमा करिब ५० हजार किलो गोलभेँडा सडकमा फ्याँकेर ‘गोलभेँडा होलिडे’ गरिएको थियो ।
त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए ।
ठ्याक्कै त्यही बेला नेपाली सस उद्योगहरू कतिपय बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयात समेत भएको थियो ।
२० माघ २०७९ मा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानले नारायणगढ पुल्चोकमा तरकारी फालेर विरोध जनाए ।
तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढमा गोलभेँडा, काउली, बन्दा, परबल लगायत तरकारी फालेर आन्दोलन गरियो ।
त्यस्तै घटना वैशाख २०७८ मा पनि भयो । तत्कालीन समयमा कोरोना भाइरस महामारीले गर्दा निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुर, काभ्रे, चितवन लगायत विभिन्न स्थानका किसानले हजारौं किलो काउली उखेलेर फाले । बजार जान नपाउने भएपछि तरकारी उखेलेर त्यो बेला किसानले अन्नबाली लगाएका थिए ।
फागुन २०७७ मा पश्चिम नवलपरासीमा गोलभेँडाले बजार नपाएको भन्दै बर्दघाटका किसानले बर्दघाट नगरपालिका परिसरभित्रै फालिदिएर विरोध जनाए ।साभारअन्लाईनखबर