Trend
आइतबार , जेठ १०, २०८३

अफजल खान
बर्दिया ।
बारबर्दिया नगरपालिका–३ लठुवाघाटस्थित मसानघाटमा रहेको मलामी बस्ने टहरा डोजर लगाएर भत्काइएको घटनाप्रति विरोध चुलिएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीलाई तत्काल कारवाही गर्न माग गर्दै प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारुले सोमबार संसदमा आवाज उठाएका छन् ।
सांसद थारुले अन्तिम संस्कार भइरहेका बेला एकातिर शव जलिरहेको र अर्कोतर्फ वन कार्यालयको निर्देशनमा मलामी ओत लाग्ने टहरा भत्काइएको दृश्य अत्यन्त पीडादायी रहेको बताए । उनले बारबर्दिया तथा मधुवन नगरपालिकाका स्थानीयवासीले वर्षौंदेखि प्रयोग गर्दै आएको मसानघाटमा घामपानीबाट जोगिन निर्माण गरिएको टहरामाथि डोजर चलाइनु मानवीय संवेदनामाथिको प्रहार भएको टिप्पणी गरे ।
“यदि मानव बस्तीका लागि संरचना बनाइएको भए वन अतिक्रमण भन्न सकिन्थ्यो, तर मलामी ओत लाग्ने टहरो भत्काउनु असंवेदनशील कार्य हो,” सांसद थारुले संसदमा भने, “यस्ता हर्कतमा संलग्न अधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।”
उनले अतिक्रमण हटाउने नाममा सर्वसाधारणलाई त्रसित बनाउने कार्य तत्काल रोक्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
यता डिभिजन वन कार्यालय बर्दियाले भने वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउने क्रममा उक्त टहरा भत्काइएको जनाएको छ । वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउने अभियान अन्तर्गत डोजर प्रयोग गरिएको स्पष्ट पारेको छ ।
तर, मलामी बस्ने टहरो भत्काइएको भिडियो सामाजिक सञ्जालमा व्यापक रुपमा भाइरल बनेपछि वन कार्यालयको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP