messenger sharing button
whatsapp sharing button
अच्युत पुरी अच्युत पुरी

२८ माघ, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना ‘कछुवा गति’ मा रहेको सरकारी तथ्यांकले छर्लङ्ग पार्छन् । सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको छ ।

तीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ मा १९ आयोजनाले बजेट पाएका थिए । यी आयोजनामा चालु आव सरकारले ६६ अर्ब ७५ करोड ३ लाख विनियोजन गरेको थियो । त्यसमध्ये पुस मसान्त (६ महिना) सम्म १७ अर्ब १५ करोड ३२ लाखमात्र खर्च भएको छ ।

गौरवका आयोजनाले आर्थिक वर्ष आधा समय घर्किंदा लक्ष्यको २५.७० प्रतिशतमात्र बजेट खर्च गर्न सकेका छन् । आयोजनागत हेर्दा हरेकजसो आयोजनाको प्रगति दयनीय छ ।

कतिपय आयोजना तीन दशक अगाडिदेख सुरु भएका हुन् । ‘राष्ट्रिय गौरव’ घोषणा गरिए पनि चुस्त आयोजना व्यवस्थापन अभावमा प्रगति भने सुस्त छ । यसले आयोजनाको लागत हरेक वर्ष बढिरहेको समेत देखिन्छ ।

मध्यपहाडी राजमार्गः लागत ३३ अर्बबाट पुग्यो ८४ अर्ब

पूर्वपश्चिम मध्यपहाडी राजमार्ग (पुष्पलाल मार्ग) आव २०६४/६५ देखि सुरु भएको थियो । १ हजार ८ सय ७९ किलोमिटर लम्बाइको यो सडक पूर्व पाँचथरदेखि पश्चिम बैतडीसम्म फैलिएको छ । यो आयोजनाको थपिएको अवधि २०८४/८५ हो ।

प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेको यो आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड पुगिसकेको छ । अघिल्लो आवसम्म यो आयोजनाको प्रगति ७७.३२ प्रतिशत थियो ।

यस वर्ष ३ अर्ब ६८ करोड बजेट विनियोजन भएको यो आयोजनामा पुस मसान्तसम्म १ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ । यो आयोजना अन्तर्गत अहिलेसम्म १ हजार ५ सय १३ किलोमिटर सडक बनिसकेको छ ।

हुलाकी राजमार्ग : १५ वर्षमा जम्मा ६६ प्रतिशत निर्माण

१ हजार ८ सय ५७ किलोमिटर लम्बाइको हुलाकी राजमार्ग आयोजना २०६६/६७ बाट निर्माण सुरु भएको थियो । यो आयोजनाको प्रगति ६६.०९ प्रतिशतमात्र छ । पछिल्लो समय यो आयोजना सक्ने अवधि २०८३/८४ सम्म पुर्‍याइएको छ ।

सुरु लागत ४७ अर्ब २४ करोड रहेको हुलाकी राजमार्गको लागत बढेर ६५ अर्ब २० करोड पुगिसकेको छ । यस वर्ष ४ अर्ब ३ करोड विनियोजन गरिएकोमा पुस मसान्तसम्म ३ अर्ब १९ करोड खर्च भइसकेको छ ।

गौरवका आयोजनाले आर्थिक वर्ष आधा समय घर्किंदा लक्ष्यको २५.७० प्रतिशतमात्र बजेट खर्च गर्न सकेका छन् । आयोजनागत हेर्दा हरेकजसो आयोजनाको प्रगति दयनीय छ ।

यो आयोजनामा यसपालि ७९ प्रतिशत बजेट खर्च भइसकेको छ । अहिलेसम्म १ हजार ३ सय ६४ किलोमिटर सडक, ७ पुल र ३ कल्भर्ट निर्माण सम्पन्न भइसकेको देखिएको छ ।

कोशी करिडोर : निर्माणमा छैन गति

१ सय ६२ किलोमिटर लम्बाइको यो सडक २०६५/६६ देखि सुरु भएको थियो । सुरु लागत ११ अर्ब ९३ करोड थियो । अहिले बढेर १६ अर्ब २० करोड पुगिसकेको छ । आयोजनाको भौतिक प्रगति ४८ प्रतिशतमात्र छ ।

पछिल्लो विवरण अनुसार यो आयोजना सक्नुपर्ने मिति २०८३/८४ हो । चालु आव ६ महिनामा यो आयोजनाले ३९ करोड २० लाख खर्च गरेको छ । आयोजनामा अहिलेसम्म ३.५ किलोमिटर मात्र कालोपत्र भएको छ । खण्डस्मिथ ८० किलोमिटर र ७९ किलोमिटर कच्ची सडक बनाइएको छ ।

उता, नेपाली सेनाले बनाइरहेको १०.५१ किलोमिटर लम्बाइको खाँदबारी–किमाथांका सडकको भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आयोजना चालु आव सकिसक्नुपर्ने छ । यो आयोजनाको ७.३० किलोमिटर ट्र्याक खन्ने काम सकिएको छ ।

कालिगण्डकी करिडोर : ८४ प्रतिशत प्रगति

२ सय २ किलोमिटर लम्बाइको कालिगण्डकी करिडोर निर्माण २०६६/६७ देखि सुरु भएको थियो । अहिलेसम्म ८४ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । १० अर्ब रुपैयाँ लागतको यो आयोजनामा अहिलेसम्म ९३.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । १ सय २० किलोमिटर खण्डस्मिथ र २७ किलोमिटर कच्ची छ । ६ पुल निर्माण भइसकेका छन् ।

कर्णाली करिडोर : बढ्दो लागत, छैन प्रगति

१ सय ४५ किलोमिटर लामो कर्णाली करिडोर २०६५/६६ देखि सुरु भएको थियो । २०८३/८४ सम्म सक्नुपर्ने लक्ष्य रहेको यो आयोजनाको भौतिक प्रगति ३० प्रतिशतमात्र छ । सुरु लागत ४ अर्ब १० करोड रुपैयाँ रहेको यस आयोजनाको लागत बढेर ६ अर्ब ६६ करोड पुगिसकेको छ ।

‘राष्ट्रिय गौरव’ घोषणा गरिए पनि चुस्त आयोजना व्यवस्थापन अभावमा प्रगति भने सुस्त छ । यसले आयोजनाको लागत हरेक वर्ष बढिरहेको समेत देखिन्छ ।

यो सडकको अहिलेसम्म कालोपत्र गर्ने काम नै सुरु भएको देखिँदैन । नेपाली सेनातर्फ लालिबगर–दुल्लीकुन्ना खण्डको २२.०५ किलोमिटर सडकको ७२.५६ प्रतिशत काम सकिएको छ । यस खण्डमा १५.३५ किलोमिटर ट्र्याक खन्ने काम सकिएको छ ।

रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना : ५ प्रतिशत प्रगति

प्रारम्भमा पूर्वपश्चिम रेलमार्ग विकाससँगै सुरु भएको यो आयोजना अन्तर्गत कुल १ हजार ३ किलोमिटर रेलमार्ग निर्माण लक्ष्य छ । अहिले ७० किलोमिटर रेलमार्ग मात्र कार्यान्वयनमा छ ।

२०६५/६६ देखि सुरु भएको आयोजना सक्ने अवधि यकिन छैन । ७० अर्ब ६२ करोड रुपैयाँ प्रारम्भिक लागतको यो आयोजनाको लागत बढेर ९ खर्ब ५५ अर्ब पुगेको छ ।

जसमा मेट्रो, मोनोरेल सहित आयोजना समेत रहेका छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म बर्दीवास चोचा रेलमार्ग खण्डमा ६ किलोमिटर ट्र्याक बेड र ४ पुल निर्माण भएका छन् ।

काठमाडौं–तराई/मधेस द्रुतमार्ग : ३५.३८ प्रतिशतमात्र प्रगति

आव २०७३/७४ देखि निर्माण थालिएको ७०.९७७ किलोमिटर लामो काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशतमात्र छ । सुरु लागत १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा यस आयोजनाको संशोधित लागत २ खर्ब ११ अर्ब पुगिसकेको छ ।

२०८५/८६ सम्म सक्नुपर्ने लक्ष्य छ । यस वर्ष पुससम्म ५ अर्ब ३१ करोड रुपैयाँ खर्च भइसकेको छ । यस आयोजनामा सुरुङ निर्माणको काम धमाधम भइरहेको छ ।

निजगढ विमानस्थल : छैन बनाउने सुरसार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७१÷७२ देखि नै सुरु भए पनि निर्माण भने अझै थालिएको छैन । आयोजना सक्ने अवधि पनि यकिन छैन । सुरु लागत १ खर्ब ६५ अर्ब लागत अनुमान गरिएको छ । यस वर्ष सरकारले २५ करोड बजेट छुट्याएको भए पनि खर्च भइसकेको छैन ।

बुढीगण्डकी जलविद्युत् आयोजना : मुआब्जा वितरणमै सीमित

आव २०६९/७० देखि सुरु भएको यो आयोजना अहिलेसम्म मुआब्जा वितरणमा मात्र सीमित छ । १ हजार २ सय मेगावाटको यो आयोजना २०८५/८६ सम्म सक्ने लक्ष्य रहे पनि अहिलेसम्म निर्माण सुरुसार छैन । सुरु लागत २ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको यो आयोजनाको लागत बढेर ३ खर्ब ९८ अर्ब पुगिसकेको छ ।

पश्चिम सेती जलविद्युत् आयोजना : अवधारणामै सीमित

यो आयोजना सन् २०२५ मा सुरु गरी २०३० सम्म सक्ने लक्ष्य छ । आयोजना अहिलेसम्म अवधारणामै सीमित छ । निर्माण मोडालिटी समेत तय भइसकेको छैन ।

बबई सिँचाइ : ३६ वर्ष पुरानो आयोजना

यो आयोजना आव २०४५/४६ देखि सुरु भएको थियो । ३६ वर्ष पुरानो आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत पुगेको छ । सुरु लागत २ अर्ब ८७ करोड रहेको आयोजनाको संशोधित लागत १८ अर्ब ९६ करोड पुगिसकेको छ ।

 

महाकाली सिँचाइ : प्रगति २२.१८ प्रतिशत

२०६३/६४ देखि सुरु यस आयोजनाको भौतिक प्रगति २२.१८ प्रतिशतमात्र पुगेको छ । यो आयोजना २०८७/८८ सम्म सक्ने गरी अवधि बढाइएको छ । यो आयोजना ३५ अर्ब लागतमा बन्दैछ ।

सिक्टा सिँचाइ : आधा प्रगति

२०६१÷६२ देखि निर्माण सुरु भएको यो आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशतमात्र छ । आयोजनाको लागत १२ अर्ब ८० करोडबाट बढेर ५२ अर्ब ८९ करोड पुगिसकेको छ । आयोजनाको म्याद लम्ब्याएर २०८९/९० पुर्‍याइएको छ ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजना : अवधि सकिनै लाग्दा ७४ प्रतिशत प्रगति

यो आयोजना २०६७/६८ देखि सुरु भएको थियो । सक्ने लक्ष्य २०८२/८३ हो । तर, अहिलेसम्म ७४.३६ प्रतिशतमात्र काम सकिएको छ । आयोजनाको सुरु लागत १२ अर्ब ३७ करोड रहेकोमा बढेर २७ अर्ब ७० करोड पुगिसकेको छ ।

भेरी–बबई डाइभर्सन : सुरुङ खनेपछि रोकियो गति

२०६८/६९ देखि सुरु भएको यो आयोजना २०८४/८५ मा सक्ने लक्ष्य छ । तर, भौतिक प्रगति ६५.८० प्रतिशतमात्र छ । यो आयोजनामा सुरुङ निर्माणको काम फटाफट भए पनि अन्य संरचनामा निर्माणले गति लिएको छैन ।

सरकारले मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघिल्लो वर्षमात्र राष्ट्रिय गौरवमा समावेश गरेका हुन् । यी आयोजनाको पछिल्लो प्रगति विवरण उपलब्ध छैन ।

यो आयोजनाबाट ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६.८ मेगावाट विद्युत् उत्पादन लक्ष्य छ । आयोजनाको लागत १६ अर्ब ४३ करोडबाट बढेर ३६ अर्ब ८० करोड पुगिसकेको छ ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना : सुरुङ खनियो, अरू काम सुस्त

यो आयोजना २०७३/७४ देखि सुरु भएको थियो । २०८४/८५ मा सक्नुपर्ने लक्ष्य छ । अहिलेसम्म भौतिक प्रगति ३४.४० प्रतिशतमात्र छ । आयोजनाको सुरुङ खन्ने काम सकिए पनि अन्य कामले गति लिन सकेको छैन । यो आयोजनाबाट १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई र २८ मेगावाट विद्युत् उत्पादन लक्ष्य छ ।

एमसीए नेपाल : प्रगति ८.०८ प्रतिशत

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) आयोजना २०७४/७५ देखि अगाडि बढेको थियो । कार्यान्वयन सुरु भएको ५ वर्षमा सक्ने गरी अघिल्लो आवबाट काम सुरु भएको आयोजनाको भौतिक प्रगति ८.०८ प्रतिशत पुगेको छ । यो आयोजनाको लागत ६९ करोड ७० लाख अमेरिकी डलर बराबर छ ।

अन्य आयोजनाको अवस्था के छ ?

राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भई पानी वितरण भएको छ । तर, आयोजनालाई बाढीले क्षति पुर्‍याउँदा सबै महिना पानी आउने वातावरण बन्न सकेको छैन । दोस्रो चरणको काम सुरु भएको छैन ।

उता, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । यी विमानस्थल सञ्चालनमा छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत निर्माण सम्पन्न भई सञ्चालनमा छ ।

सरकारले मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघिल्लो वर्षमात्र राष्ट्रिय गौरवमा समावेश गरेका हुन् । यी आयोजनाको पछिल्लो प्रगति विवरण उपलब्ध छैन ।सभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP