
ए.टिभी न्युज नेपाल
राम प्रसाद चौहान
बर्दिया,फागुन २३
हाम्रो गाउँ समाजमा जातीय विभेदको रुप परिवर्तन भएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले दाबी गरेकी छन् । संघद्वारा बिहीबार आयोजित जातीय विभेद न्युनिकरण गर्नका लागि संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनारले यस्तो दावी गरेकी हुन् ।
पछिल्लो समयमा पहिलाको जस्तो विभेद गरिएको नदेखिए पनि दलितलाई गरिने विभेद अझै कायम रहेको अध्यक्ष सुनारले जिकिर गरिन् । ‘सामाजिक समारोह भोज भतेर, पुजापाठ र ब्रतबन्धन जस्ता कार्यक्रममा बोलाएर दलित हुन् भनेर टाढा राख्ने व्यवहार गरिन्थ्यो,’अध्यक्ष सुनारले भनिन्,‘तर अहिले उक्त समारोहमा दलितहरुलाई नबोलाएर समाजबाट बहिस्कार गरेको अधिकांश ठाउँमा देखिन्छ ।
’ यो भनेको विभेदको रुप परिवर्तन भएको हो । ‘सहजै रुपमा दलितहरु अछुत सानो जात हुन् भन्ने छैन,’अध्यक्ष सुनारले भनिन्,‘तर दलितहरुले कोटा पाएका छन्, गैरदलित भन्दा छिटो सामाजिक सुरक्षा भत्ता पाउँछन् र त्यसको आधारमा दलित भन्न किन नपाउँने कुरा आउँछ ।’ आफै हामी दलित हौ भन्नुहुन्छ । त्यसको आधारमा विभेद भयो किन भन्ने कुरा बौद्धिक व्यक्तिहरुबाट निस्किने गरेको छ ।
यस्तो शब्द चिरफार गर्ने र बाहिर ल्याउने उदेश्यले अन्तरक्रियाको आयोजना गरिएको सुनाईन् । ‘यदि साच्चिकै दलितहरुले सामाजिक सुरक्षा भत्ता र आरक्षण कोटा पाएकै आधारमा विभेदको सामना गर्नुपर्ने हो भने नेपालमा आरक्षण कोटा प्राप्त गर्ने वर्ग कुन कुन हुन् केलाउनुपर्छ,’अध्यक्ष सुनारले भनिन्,‘आरक्षण कोटा पाउने दलितले मात्र त होइनन्, गैरदलित पनि प्राप्त गरेका छन् ।’ बौद्धिक व्यक्तिहरुले कोटा र दलित शब्द किन प्रयोग गर्ने कुरा ल्याउँदा हामीलाई दुःख लाग्छ । जातीय विभेद रोक्न दलितहरुको मात्र मुद्दा हो, जातीय विभेद भयो भने दलितले मात्र बोल्दिनु पर्ने बौद्धिक व्यक्तिहरुको सोचाई पाउँदा दुःख लाग्ने गर्छ ।
यो समाजमा भएको विकृति, बिसंगति र कुसंस्कारलाई हटाउन हामी सबैको दायित्व हो । दलितले पनि अन्य जाती जस्तै सम्मानपुर्वक बाँच्न चाहन्छ । यस्ता सामाजिक कुसंस्कार र हानिकारक पराम्परागत अभ्यासलाई हटाउन तपाई हामी आजबाट जुट्न अध्यक्ष सुनारले आग्रहसमेत गरिन् ।
जातिय विभेद अन्त्यको लागि संचारकर्मीहरुले समाचारमार्फत विगतबाट वकालत गर्दै आईरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । यो लडाईमा संचारकर्मीहरुको सधैं साथ सहयोग रहने अध्यक्ष घिमिरेले प्रतिबद्धता व्यक्त गरे ।