
बर्दिया— बर्दियाको गुलरियामा रहेको श्री मदरसा असरफिया मसउदुल उलूम आधारभूत विद्यालय गम्भीर संकटमा परेको छ। विद्यालयमा कक्षा ५ सम्म अध्ययन गराउने व्यवस्था छ भने हाल यहाँ १५२ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा हाल ७ जना शिक्षक कार्यरत छन् । थप ४ जना उर्दू विषयमा विशेषज्ञ छन्।
विद्यालयले प्रदेश सरकारबाट वार्षिक तीन लाख रुपैयाँ अनुदान प्राप्त गरिरहेको छ, तर त्यो रकम अत्यन्तै अपुग भएको विद्यालय प्रशासनको गुनासो छ। आर्थिक अभाव, भौतिक पूर्वाधारको कमजोर अवस्था तथा विद्यार्थी सङ्ख्यामा दिनप्रतिदिन भइरहेको गिरावटले विद्यालय अस्तित्वकै सङ्कटमा पुगेको छ।
शिक्षक साकिर सिद्दिकी १८ वर्षदेखि यही विद्यालयमा कार्यरत छन् तर अझै पनि उनी मासिक केवल आठ हजार रुपैयाँमा काम गर्न बाध्य छन्। “गत वर्षसम्म गैर-मुस्लिम विद्यार्थी ७ जना थिए, तर यस वर्ष अहिलेसम्म एकजना पनि भर्ना भएका छैनन्,” सिद्दिकीले बताए।
विद्यालयको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ गुलरिया पुगेका थिए। हालै कर्णाली प्रदेश प्रमुखको समेत जिम्मेवारी पाएका मियाँको कर्णालीको कार्यभार सम्हाल्न जाने क्रममा विद्यालयको निरीक्षण गरेका हुन् । क्रममा स्थानीय अभिभावक र शिक्षकहरूले विद्यालयको गम्भीर अवस्थाबारे जानकारी गराउँदै प्रदेश प्रमुखसँग तत्कालीन सहयोगको अपिल गरेका थिए।
प्रदेश प्रमुख मियाँले विद्यालयको अवस्थाबारे गम्भीर छलफल र आवश्यक परामर्श गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “शिक्षा सबैका लागि समान रूपमा उपलब्ध हुनुपर्छ। मदरसा विद्यालयहरू हाम्रो विविधता र धार्मिक सहिष्णुताको परिचायक हुन्। यस विद्यालयको संरक्षणका लागि आवश्यक कदम चालिनेछ।”
स्थानीय अभिभावक, शिक्षक तथा समुदायले प्रदेश सरकारसँग सहयोगको अपेक्षा राखेका छन्। उनीहरू भन्छन्, “मदरसा हाम्रो भाषा, संस्कृति र धार्मिक शिक्षाको केन्द्र हो। यसले अस्तित्व जोगाउन नसक्ने हो भने समुदायकै पहिचान संकटमा पर्छ।”
प्रदेश सरकारको पहल, नीति-निर्माण र विशेष अनुदानको व्यवस्था नभएमा विद्यालय बन्द हुने खतरा देखिन थालेको छ। यसैबीच शिक्षा क्षेत्रका विज्ञहरूले पनि मदरसा शिक्षाको प्रभावकारी संरक्षण र प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्।साभारबडिमलिकाखबर