बर्दिया,असार ३२ / बर्खा लागेपछि सडक पूर्वाधार विकास कार्यालयले सडक टालटुलको काम सुरु गरेको छ । गणेशपुर–लक्ष्मणा सडक खण्ड बाँसगढी नगरपालिका–७ स्थित सडक पूर्वाधारले सडक टालटुलको काम सुरु गरेको हो ।
बर्खाको समयमा टालटुल गरेको सडक कत्तिको टिकाउ हुने हो भनेर स्थानीयले अहिलेदेखि नै चिन्ता व्यक्त गरेका छन् । सडक टालटुलमा त्रुटि भएको स्थानीयको भनाइ छ ।
सडकको किनार किनारमा मेटेरियल हालेर टालिँदा बाटो अग्लो भएको छ भने बीचमा धसिएको छ । यसले गर्दा दुर्घटना हुने जोखिम बढेको सरोकारवालाले बताए । यस्तो लापरबाही भइरहँदासमेत सडक पूर्वाधार मौन देखिएको स्थानीयको गुनासो छ ।
‘सडकमा ज्यान लिने ठूला खाल्डा परे पनि सडक पूर्वाधार विकासले अन्य बेला वास्ता गर्दैन,’ बाँसगढी नगरपालिका–७ का गोपाल थारुले भने, ‘बर्खा सुरु भएपछि खाल्डा टाल्ने काम सुरु गरिएको छ, यो असारे विकास कत्तिको टिक्ने हो, कुनै ठेगान छैन ।’
प्रदेश सरकारको बजेटबाट सडक मर्मत–सम्भारको काम भइरहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताए । ‘आर्थिक वर्ष ०८१/८२ मा हाम्रो कार्यालयबाट साना–ठूला गरी २ सय १० योजना थिए,’ उनले भने, ‘त्यसैगरी अन्य कार्यालयका पनि योजना हुन्छन्, निर्माण व्यवसायीहरूसँग स्रोत साधनको कमीले योजनाको काममा ढिलाइ भएको हो ।’
यो आर्थिक वर्षको प्रगति विवरण तयार भइरहेको प्रमुख क्षेत्रीले जानकारी दिए । सडक पूर्वाधारका अनुसार बाँसगढी नगरपालिका–७ स्थित यस सडकको कामका लागि ४ लाख ३५ हजारमा ठेक्का लगाइएको हो । निर्माण व्यवसायीले असार १५ भित्र काम सम्पन्न गर्ने अवधि तोकिएको थियो तर असार अन्तिम दिन पनि निर्माणको काम सम्पन्न भएको छैन । बाटो मर्मतको काम माही कन्ट्रक्सन गुलरियाले गरिरहेको छ ।
नयाँ निर्माण व्यवसायी भएकाले थाहा नपाएर बेस बढी हाल्दा बाटोको किनारमा उठेको पाइएको सडक पूर्वाधार विकासका सब–इन्जिनियर प्रकाश चौधरीले बताए । बढी उठेको भागलाई मिलाउन निर्माण व्यवसायीलाई भनिसकेको सव–इन्जिनियर चौधरीले जनाए । उक्त कन्ट्रक्सनका संचालक राजु गद्दीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP