Trend
बुधबार , कार्तिक २०, २०८२

 

साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकार बताउँछन्।

संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्। “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलिबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उनले भने।

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ। यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ। यसको कुनै शास्त्रीय वचन भने नरहेको बताए। ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो। वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ।।

चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ। सावधानलाई फलफूलकै वर्गमा राखिन्छ। यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ। नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP