उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाले जिल्लामा हाल देखिएका विभिन्न समस्याहरुको समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुरेन्द्र पौडेललाई ४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
संघका अध्यक्ष देवेन्द्र पाण्डेको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेको टोलीले नेपाल–भारत खुला सिमाना व्यवस्थापन, सीमा पारिको बजारले स्थानिय व्यापारमा पारेको असर, राजस्व असुलीमा देखिएको समस्या तथा कृषिमा मलखादको अभाव लगायतका विषयमा तत्कालीन ध्यानाकर्षण गराएको हो।
अध्यक्ष पाण्डेले सीमा क्षेत्रमा अवैध व्यापारको रोकथाम, व्यवस्थित बजार व्यवस्थापन, मलखादको सहज आपूर्तिका लागि स्थानीय प्रशासनको सहकार्य अत्यावश्यक रहेको बताए। प्रतिनिधिमण्डलले हालसालै बर्दियामा कार्यभार सम्हाल्न आएका प्रजिअ पौडेललाई स्वागत गर्दै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेको छ।
प्रजिअ पौडेलले व्यवसायीहरुको जायज मागलाई सम्बोधन गर्न प्रशासन तत्पर रहने आश्वासन दिएका छन्।