भैरहवा, साउन २० ।
लुम्बिनी प्रदेशमा कक्षा १२ को परीक्षामा ३६ हजार ७६३ विद्यार्थी उत्तीर्ण भएका छन् । अवर्गीकृत परीक्षार्थीको संख्या २९ हजार ३२३ छ । यसरी हेर्दा वर्गीकृत हुने परीक्षार्थी संख्या ५५.६३ प्रतिशत छ । लुम्बिनी प्रदेशमा नियमिततर्फ परीक्षामा ६६ हजार ८६ परीक्षार्थी सहभागी भएका थिए ।
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मंगलबार विज्ञप्ती जारी गर्दै उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उत्तीर्ण विद्यार्थीलाई बधाई र अनउत्तीर्ण (ननग्रेड) विद्यार्थीलाई आगामी दिनमा सफलताको शुभकामना व्यक्त गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले सोमबार मात्रै परीक्षाफल प्रकाशित गरेको थियो । २०८२ वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।
मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा कुल परीक्षार्थीमा १ हजार ५४३ जना विद्यार्थीले ३.६१ देखि ४ जिपिए ल्याएका छन् । यस्तै, ३.२१ देखि ३.६० जिपिएस ल्याउने विद्यार्थी ८ हजार ९९ जना, २.८१ देखि ३.२० जिपिए ल्याउने १४ हजार ४४७ जना, २.४१ जिपिएदेखि २.८० जिपिए ल्याउने ११ हजार ३४४ जना विद्यार्थी छन् । यसैगरी २.०१ देखि २.४० जिपिए ल्याउने १ हजार ३२९ जना र १.६१ देखि २.० जिपिए ल्याउने १ जना विद्यार्थी छन् ।
मन्त्री तिमिल्सिनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘वर्गीकृत भएका विद्यार्थीलाई बधाई तथा अवर्गीकृत हुने विद्यार्थीलाई आगामी परीक्षामा वर्गीकृत हुनका लागि शुभकामना छ । यस प्रदेशमा परीक्षा व्यवस्थापन गर्न सहयोग गर्नुहुने शिक्षक, अभिभावक, राष्ट्रिय परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन समिति, जिल्ला परीक्षा समन्वय समिति, सुरक्षा निकाय लगायत सेवा प्रदायक विभिन्न निकाय, सञ्चार माध्यम तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद प्रकट गर्दछु ।’
कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल नतिजाअनुसार देशभर नियमित परीक्षामा सहभागी भएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये ३.६१ जिपिए देखि ४ जिपिए सम्म १३,५०२ जना, ३.२१ जिपिए देखि ३.६० जिपिए सम्म ५५,८९६ जना, २.८१ जिपिए देखि ३.२० जिपिए सम्म ९४,२६८ जना, २.४१ जिपिए देखि २.८० जिपिए सम्म ६९,८१२ जना, २.०१ जिपिए देखि २.४० जिपिएसम्म ८,९६४ जना, १.६१ जिपिए देखि २.० जिपिए सम्म २३ जना गरी जम्मा २,४२,४६५ वर्गीकृत भएका छन् । अवर्गीकृत परीक्षार्थीको संख्या देशभरमा १,५३,८८२ छ ।






