नेपालले जनसांख्यिक लाभको अवसर पाएको छ । यसलाई सदुपयोग गर्न युवालाई प्रविधिसँग जोड्न जरुरी छ,’ मन्त्री तिमिल्सिनाले भने
पाल्पा । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यार्थीमा असल चरित्र निर्माणका लागि शैक्षिक संस्थाहरुले अझ बढी भूमिका बढाउनुपर्ने बताएका छन् ।
शनिबार पाल्पा टेक्निकल इन्स्टिच्युटको ३० औं वार्षिकोत्सव तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले उत्तीर्ण हुनु मात्र ठूलो कुरा नभई असल संस्कार, अनुशासन र चरित्र निर्माण गर्न सक्नु नै जीवनको महत्त्वपूर्ण पक्ष हुने बताएका हुन् ।
‘आरोप प्रत्यारोप लगाएर विकास हुँदैन । नेपालले जनसांख्यिक लाभको अवसर पाएको छ । यसलाई सदुपयोग गर्न युवालाई प्रविधिसँग जोड्न जरुरी छ,’ मन्त्री तिमिल्सिनाले भने ।
उनले नेतृत्व जनता सँग टाढा भाग्न नहुने भन्दै शिक्षा विधेयकमा संघीय सरकारले शिक्षकको माग पूरा गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा पाल्पा टेक्निकल इन्स्टिच्युटले वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेका कार्यक्रम, उपलब्धि र चुनौतीबारे जानकारी गराएको थियो ।
२०५२ सालमा स्थापना भएको इन्स्टिच्युटले सुरुवाती दिनदेखि प्राविधिक एसएलसी तहका विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि पछिल्ला नीतिगत निर्णयका कारण कतिपय कार्यक्रम बन्द भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल संस्थामा हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन कार्यक्रम सञ्चालन भइरहेका छन् ।
प्रतिवेदन अनुसार हाल १४ जिल्लाबाट १३९ विद्यार्थी अध्ययनरत छन् । यस वर्ष पहिलो ब्याचका हेल्थ असिस्टेन्ट विद्यार्थीले अन्तिम परीक्षा दिएर दीक्षान्त कार्यक्रममा सहभागी भएका छन् ।
इन्स्टिच्युटका लागि दुईवटा पक्की भवनमा ४२ कोठासहित कक्षा कक्ष, ल्याब, पुस्तकालय, सभा हल, छात्रावास र सुरक्षा व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीलाई प्रायोगिक अध्ययनका लागि अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा पठाउने गरिएको जानकारी पनि दिइयो ।
संस्थाले प्रत्येक वर्ष १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने, अनुशासन र शैक्षिक उत्कृष्टतामा पुरस्कार प्रदान गर्ने परम्परा रहेको प्रतिवेदनमा जनाइएको छ । यसैगरी अतिरिक्त क्रियाकलाप, जनचेतनामूलक कार्यक्रम र शिक्षक अभिवृद्धिका तालिम सञ्चालन गर्ने कार्य हुँदै आएको छ ।
भविष्यमा ई-लाइब्रेरी, थप प्रयोगशाला सामग्री, शिक्षक तालिम र नयाँ कार्यक्रम सञ्चालन गर्ने योजनासहित प्रतिवेदनमा प्राविधिक शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
समारोहमा दीक्षान्त प्राप्त विद्यार्थीलाई सम्मान गरिनुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।






