Trend
बुधबार , कार्तिक २०, २०८२

काठमाडौं, २९ भदौ । राजधानीस्थित रिपोर्टर्स क्लबमा आइतबार ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ पत्रकार सम्मेलनका क्रममा युवाहरू र पत्रकारहरूको आक्रोशको शिकार बने ।

करिब ७० जनाको ज्यान गइसके पनि आन्दोलनले अपेक्षित उपलब्धि हासिल नगरेको भन्दै जेन–जी युवा तथा सञ्चारकर्मीहरूले गुरुङमाथि कठोर प्रश्नहरू उठाए । उनले आन्दोलनका उपलब्धि सुनाउन खोज्दा हलमै युवाहरू मञ्चसम्म उक्लिएर उनलाई घेराउ गरे । यस क्रममा क्लब अध्यक्ष ऋषि धमलाले उनलाई जोगाउनुपरेको थियो ।

गुरुङले आफूलाई कहिले ‘बारबरा फाउन्डेशन’, कहिले ‘फ्री–तिब्बत’सँग जोडिएको भन्ने आरोप लगाइएको भन्दै गुनासो गरे । “हामी आन्दोलनका दिन बानेश्वरमै थियौँ, हाम्रो ज्याकेटमा अझै रगतको दाग छ,” भन्दै उनले हिंसात्मक गतिविधि भने राजनीतिक दलका कार्यकर्ताबाट भएको दाबी गरे ।

“म नेपालको छोरो हुँ, मलाई भारतीय नभन्नु,” भन्दै उनले आफ्नो पहिचानमाथि प्रश्न उठाउन नदिन चेतावनी पनि दिए । उनले कुनै सरकार पनि आफूहरूको मागअनुसार नचले ढल्ने दाबी गर्दै, “अब एक्लै भए पनि लड्छु, जबसम्म परिवर्तन हुँदैन लडिरहन्छु,” भने ।

उनका अभिव्यक्तिपछि युवाहरू आक्रोशित बने । ७३ वर्षीया सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर परिवर्तन सम्भव नभएको भन्दै युवाहरूले प्रश्न गर्दा वातावरण थप तनावग्रस्त बन्यो । गुरुङले आगजनी आफूहरूले नगरेको दाबी गर्दै आन्दोलनको अन्त्य पनि आफूहरूले गर्न सक्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा उनले सुरुमा आक्रामक शैली अपनाएको भन्दै पत्रकारहरूले आपत्ति जनाए । अध्यक्ष धमलाले “नम्र भएर बोल्नुस्” भनेपछि उनले प्रेसको भूमिकाको प्रशंसा गरे पनि तलबाट युवाहरूको चर्को प्रश्नोत्तर जारी रह्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी, संसद् विघटन र आगामी आन्दोलनबारे प्रश्नहरू उनले सामना गर्नुपर्‍यो ।

कार्यक्रम सकिएलगत्तै भृकुटीमण्डपमा जेन–जी आन्दोलनका युवा र पत्रकार पक्षबीच झडप भएको छ । हात हालाहालसम्म पुगेको स्थितिमा गुरुङलाई उनका समर्थकहरूले घेराबन्दी गर्दै सुरक्षित स्थानतर्फ लैजानुपरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP