बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध
– चन्द्र बि.क.
बर्दिया –
नेपालीहरूकाे महान पर्व वडा दशैंमा शान्ति–सुरक्षा कायम राख्न प्रशासन र नगरपालिका समक्ष हरियाली अभियन्ता तथा कृषि पत्रकार कमल राज पौडेल देव कमलले अनुराेध गर्नुभएकाे छ ।
उहाँले दशैंलाई जिल्लामा सद्भाव र सुरक्षितका साथ मनाउने वातावरण सिर्जना गरिदिन जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल र गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन पेश गर्नुभएकाे हाे ।
गुलरिया नगरपालिका वडा नं. ७ निवासी पाैडेलले हालै सम्पन्न मोहम्मद डे र गणेश पुजाको अवसरमा DJ संगीतमाथि देखिएको विवादका कारण हिन्दु र मुस्लिम समुदायबीच अप्रिय घटना भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै, दशैं पर्व विशेषगरी दुर्गा स्थापना देखि विसर्जनसम्मको अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम रहोस् भन्ने उद्देश्यले प्रशासन र नगरपालिकामा निवेदन दिएकाे बताउनुभयाे ।
उहाँले दिएको निवेदनमा विभिन्न ५ बुँदामा जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराइएको छ । जसअनुसार चाडपर्व एवम् सांस्कृतिक कार्यक्रमका लागि अनुमति लिएर मात्र स्थल तोक्ने व्यवस्था मिलाउन, दुर्गा विसर्जनको समयमा भीडभाड हुने स्थानमा पर्याप्त सुरक्षा परिचालन गर्न, DJ लगायत उच्च ध्वनीमा बज्ने साउण्ड प्रणालीलाई नियन्त्रण गर्न, समुदायबीच आपसी संवाद तथा सचेतना कार्यक्रम सञ्चालन गर्न र अफवाह वा गलत प्रचार–प्रसारलाई रोक्न मिडिया तथा सामाजिक सञ्जालमा निगरानी राख्न माग गरिएको कुरा उल्लेख छ ।
यसैगरी गुलरिया नगरपालिकालाई बुझाइएको निवेदनमा, समुदायस्तरमा सद्भाव समूह गठन गर्ने, उच्च ध्वनी प्रणालीलाई निषेध गर्ने, आवश्यक परामर्श तथा समन्वय गरेर मात्र कार्यक्रम सञ्चालन गर्न अनुमति दिने, दुर्गा स्थापना देखि विसर्जनसम्म कडा अनुगमन गर्ने लगायतका माग प्रस्तुत गरिएको छ ।
पौडेलले स्थानीय समुदाय, धार्मिक मण्डली तथा कार्यक्रम आयोजनामा संलग्न व्यक्ति/संस्थालाई आपसी सद्भाव र सहिष्णुता कायम राख्न पनि आग्रह गर्नुभएकाे छ । उहाँ भन्नुहुन्छ, “हिन्दु–मुस्लिमबीचको सद्भाव अझै सामान्यिकरण भएको अवस्था नभएकोले, दशैंलाई शान्तिपूर्ण बनाउनु सबैको साझा जिम्मेवारी हो ।”
उहाँले प्रशासन र नगरपालिकाले दशैं अवधिभर कडा अनुगमन तथा सहयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिनु भयाे । स्थानीय नागरिकको सक्रिय पहलसँगै प्रशासन र नगरपालिकाले समयमै आवश्यक कदम चाल्दा, बर्दियामा दशैं पर्वलाई सुरक्षित, सौहार्दपूर्ण र मर्यादित बनाउने अपेक्षा समेत गरिएको छ ।





