बजारमा केराले बजारभाउ नपाउँदा किसान चिन्तामा
कृष्ण बहादुर विश्वकर्मा
बर्दिया / हालका दिनमा बजारमा केराको माग घटेपछि किसानहरू ठूलो संकटमा परेका छन्। केराको उचित मूल्य नपाउँदा उनीहरू चिन्तित भएका छन्। केही वर्षअघिसम्म राम्रो आम्दानी दिने फलफूलका रूपमा रहेको केरा अहिले घाटाको कारोबार बनेको छ।
बर्दिया, बाँके, कैलाली लगायतका अन्य जिल्लाहरुमा हजारौँ किसानले व्यावसायिक रूपमा केराको खेती गर्दै आएका छन् जस अन्तर्गत गुलरिया पनि एक केरा खेतीको नमुना नै रहेको पईन्छ यो एक कच्चा पदार्थ अन्तर्गत पर्दछ यसलाई तुरुन्तै बिक्रि गरिसक्नु पर्दछ ताकी खराब हुन् बेर लाग्दैन तर यस वर्ष बजारमा माग घट्नुका साथै व्यापारीहरूले पनि कम मूल्यमा खरिद बिक्रि गर्नु पर्दा किसानहरू निराश भएका छन्। किसानहरूले बताएका छन् कि केराको उत्पादन लागत नै नउठ्ने अवस्था आएको छ।
हाल गुलरिया बजारमा प्रति दर्जन रु ३० देखि ५० रुपैयाँमा मात्र बिक्री भइरहेको छ । किसानहरुका अनुसार, हामीले महिनौँ मेहनत गरेर उत्पादन गरेका केरा बजारमा लग्दा पनि घाटा बेहोर्नु परेको छ। नत व्यापारीले उचित मूल्य दिन्छन्, नत सरकारले सहयोग गर्छ।
केराको मूल्य घट्नुका प्रमुख कारण बजारमा बढी आपूर्ति, भण्डारणको अभाव र मागमा कमी रहेको बताइन्छ। अर्कोतर्फ, भारततर्फ निर्यातमा पनि कमी आएको छ, जसले किसानको समस्या झनै बढाएको छ भने भारतीय बजार सँग सिमाना जोडिएकोले ठुला र राम्रा केरा को प्रयोगले यहाको दरभाउमा गिरावट आएको अनुमान गर्न सकिन्छ ।
स्थानीय तहका कृषि शाखाहरूले किसानलाई निराश नहुन आग्रह गर्दै उत्पादनलाई प्रशोधन र मूल्य अभिवृद्धि गर्ने योजनामा काम भइरहेको बताएका छन्। तर तत्काल समाधान नआउँदासम्म किसानहरूको चिन्ता घट्ने देखिँदैन।
केराको मूल्यमा सुधार नभए किसानहरूले आगामी वर्ष खेती घटाउने मनसाय पनि दिएका छन्। यसले केवल किसानको आम्दानीमा मात्र होइन, स्थानीय अर्थतन्त्रमा पनि असर पार्ने निश्चित देखिन्छ।






