सामाजिक सद्भाव सुदृढ बनाउन गृह मन्त्रालयको १० बुँदे निर्देशन, ७७ वटै जिल्ला प्रशासनलाई सर्कुलर
काठमाडौं। देशका केही तराई–मधेश क्षेत्रका जिल्लामा देखिएका धार्मिक तथा सामाजिक तनावका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ।
मंगलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी सर्कुलरमा कानुनविपरीत गतिविधिमा संलग्न जो–कोहीलाई तत्काल नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया अघि बढाउन सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ।
सर्कुलरमार्फत धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धनका लागि सरोकारवाला निकायहरूसँग समन्वय बैठक आयोजना गर्न भनिएको छ। जिल्लास्थित राजनीतिक दल, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरूलाई सहभागी गराई सद्भाव कायम राख्न सार्वजनिक आह्वान गर्न समेत निर्देशन दिइएको छ।
यसैगरी, सबै पक्षको सहभागितामा सद्भाव र्याली आयोजना गरी सम्भावित अशान्ति न्यूनीकरण गर्न तथा सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ जाँच–पड्ताल गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
स्थानीय सञ्चार माध्यममार्फत स्थानीय भाषामा सामाजिक सद्भाव प्रवर्द्धन हुने कार्यक्रम सञ्चालन गर्न, साथै प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रवर्द्धनात्मक गतिविधि सञ्चालनमा जोड दिइएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाउने निर्णय पनि सर्कुलरमा समेटिएको छ। समितिमा जिल्ला सुरक्षा समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य महासङ्घ, पत्रकार महासङ्घ, नेपाल बार एसोसिएसन, जिल्ला समन्वय समितिको प्रतिनिधि तथा सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सदस्य रहने व्यवस्था गरिएको छ।
यसबाहेक, विगतमा भएका घटनाहरूको अभिलेखका आधारमा भविष्यमा विवाद हुन सक्ने पर्व वा कार्यक्रमको पहिचान गरी वार्षिक क्यालेन्डर तयार गर्न समेत गृह मन्त्रालयले सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ।






