प्रजातन्त्र दिवस तीन दिन मनाइने, मूल समारोह समिति गठन
समितिमा मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, विभिन्न सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन्। गृह मन्त्रालयका सचिव समितिका सदस्य–सचिव रहनेछन्।
काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म देशव्यापी रूपमा मनाउने निर्णय गरेको छ।
विसं २००७ फागुन ७ गते राणाशासनको अन्त्यसँगै नेपालमा प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गरिने भएको हो।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार अपरान्ह सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गर्दै मूल समारोह समिति गठन गरेको छ।
समितिमा मन्त्रीहरू, काठमाडौं उपत्यकाका सबै नगरपालिकाका प्रमुखहरू, मुख्यसचिव, प्रधानसेनापति, विभिन्न सचिवहरू तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहेका छन्।
गृह मन्त्रालयका सचिव समितिका सदस्य–सचिव रहनेछन्।
निर्णयअनुसार तीनै दिन नेपालभरि तथा विदेशस्थित नेपाली दूतावास, कूटनीतिक नियोग र वाणिज्य दूतावासहरूमा समेत कार्यक्रम सञ्चालन गरिनेछ। मुख्य समारोह काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा आयोजना हुनेछ।






