Trend
शुक्रबार , बैसाख ११, २०८३

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार, विगतमा पनि ६० बढीको उद्धार गरिसकेको टोली सक्रिय

अतिउल्लाह आस्मिर खानले विगत डेढ वर्षमा मलेसिया, युक्रेन, साउदी अरेबिया, कुवैत, दुबई र कतार लगायतका विभिन्न देशबाट ६० भन्दा बढी नेपालीहरूको उद्धार गरिसकेको जानकारी दिएका छन्।

 

अफजल खान✍️

रौतहट, वैशाख ११ — वैदेशिक रोजगारीका क्रममा कुवैतमा कार्यरत रौतहटका एक युवकलाई गम्भीर स्वास्थ्य समस्या देखिएपछि २४ घण्टाभित्रै उद्धार गरिएको छ।

रौतहट जिल्लाका मुकेश माहरा कुवैतमा काम गर्ने क्रममा सामान्य चोटपटकपछि खुट्टामा संक्रमण फैलिँदै गएपछि गम्भीर बिरामी परेका थिए। करिब एक महिनादेखि उपचाररत रहँदा पनि सम्बन्धित कम्पनीको लापरवाहीका कारण उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको बताइएको छ।

पीडित परिवारले सहयोगका लागि पहल गरेपछि एक समन्वय टोलीले उद्धार प्रक्रिया अघि बढाएको थियो। टोलीको सक्रियता र प्रभावकारी समन्वयका कारण छोटो समयमै आवश्यक प्रक्रिया पूरा गर्दै २४ घण्टाभित्रै उनको उद्धार गर्न सफल भएको जनाइएको छ।

उद्धार अभियानमा संलग्न अतिउल्लाह आस्मिर खानका अनुसार कठिन परिस्थितिका बाबजुद मानवीय दायित्वलाई प्राथमिकतामा राख्दै छिटो निर्णय र पहल गर्दा उद्धार सम्भव भएको हो।

उक्त उद्धार कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादव, उनको सचिवालय तथा सम्बन्धित निकायहरूको महत्वपूर्ण समन्वय रहेको बताइएको छ। उनीहरूको तत्पर सहयोगका कारण उद्धार प्रक्रिया छिटो र प्रभावकारी रूपमा सम्पन्न भएको जनाइएको छ।

यसैबीच, अतिउल्लाह आस्मिर खानले विगत डेढ वर्षमा मलेसिया, युक्रेन, साउदी अरेबिया, कुवैत, दुबई र कतार लगायतका विभिन्न देशबाट ६० भन्दा बढी नेपालीहरूको उद्धार गरिसकेको जानकारी दिएका छन्।
सम्बन्धित टोलीले विदेशमा समस्यामा परेका नेपाली नागरिकहरूको उद्धारका लागि आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP