दुर्घटनाको आवरणमा लुकाइएको हत्या, प्रहरी अनुसन्धानले खोल्यो रहस्य
साउन २०, २०८३ बुधबार १९१ पटक हेरिएको
दुर्घटनाको आवरणमा लुकाइएको हत्या, प्रहरी अनुसन्धानले खोल्यो रहस्य
अफजल खान
बर्दिया,साउन २०
हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा ठाकुरबाबा नगरपालिका वडा नंम्बर ७ कालीगौडीका २० वर्षिय गोविन्द जैसीलाई प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा गोविन्द जैसीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो । ठाकुरबाबा नगरपालिका वडा नंम्बर ९ बेतहनीका २७ वर्षिय आसाराम थारुको गत आइतबार शव फेला परेको थियो । कुशलपटुवा स्थित सिंचाई नालामा घोप्टो अवस्थामा थारुको शव फेला परेको प्रहरीले जनाएको छ ।
गत शुक्रबार बिहान २ बजेको समयमा हात्तीसारतर्फ जाँदै गरेको लु.प्र.००१–०१२ प ०८२५ नंम्बरको मोटरसाइकल दुर्घटना भई गोविन्द जैसी घाईते भएको प्रहरीलाई जानकारी भयो । प्रहरीले अनुसन्धान र खोजतलास गर्दा मोटरसाइकल चालक सम्पर्क बिहीन थिए । यस्तै मोटरसाइकलमा सवार जैसी दुर्घटनामा परी घाईते भएको खुल्यो । तर,जैसीको शंकास्पद बयानले घटनाले अर्को मोड लियो । प्रहरीले अनुसन्धान बढाउदा घटनाको अनौठो तथ्य सार्वजनिक भयो । दुर्घटनाबाट थारुको मृत्यु नभई जैसीले हत्या गरेको तथ्य सार्वजनिक भयो ।
साउन १५ गते दुर्घटनास्थलमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला पर्यो । त्यो मोटरसाइकलको धनी घाईते गोविन्द जैसीको नाममा रहेको खुल्यो । साउन १४ गते बेलुकी मृतक थारु काम गर्ने ग्यारेजमा अबेरसम्म बेयर खाएको र मृतकको घरमा आएर खाना खाएर अर्को एक जना साथीलाई मडेला पुर्याएर फर्किने क्रममा जैसीले चलाएको मोटरसाइकल दुर्घटना हुँदा थारु घाईते भएको प्रहरीको अनुसन्धानबाट रहस्य बाहिरिएको छ ।
घाईते थारुको उपचार गराउनुपर्छ धेरै खर्च हुन्छ,घटनाको वास्तविकता लुकाई दुर्घटनाकै कारणले मृत्यु भएको देखाउने मनसायले जैसीले हत्या गर्ने सोच बनाएका थिए । थारु घाईते भएपछि जैसीले घटनास्थल नजिक निर्माणधिन घरको सटरिङको काठले छातीमा प्रहार गरेको खुलेको छ । यस्तै मोटरसाइकलको चाबीले मुखमा प्रहार गरेको र मृतकले लगाएको मालाले घाँटी कसी हत्या गरी नालामा फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
उक्त घटनामा संलग्न भएको सटरिङको काठ, मोटरसाइकलको चाबी, घाँटीमा रहेको माला र मृतक थारुको चप्पललगायतको साबुत प्रमाण बरामद भएको प्रहरीले जनाएको छ । गोविन्द जैसीलाई नियन्त्रणमा कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।