Atv News
राम प्रसाद चौहान

बर्दिया,पौष १६
नहरले उब्जनी बढ्ने गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताएका छन् । सोमबार गुलरिया नगरपालिका–१ निमकोठिया स्थित नहरको शिलान्यास गर्दै नगर प्रमुख यादवले यस्तो बताएका हुन् ।

गुलरिया नगरपालिका अन्तर्गत नहरको शिलान्यास हुँदा खुसी लागेको नगर प्रमुख यादवले बताए । ‘अब नहरले गर्दा किसानलाई धेरै फाइदा हुन्छ,’नगर प्रमुख यादवले भने,‘नहरको पानीले जुन किसिमले उत्पादनमा फाइदा हुन्छ,त्यो किसिमले बोरिङ्गको पानीले फाइदा हुदैन ।’ नहरको पानीमा अनेक किसिमको मिसावट भएको हुँदा मल नहालेर पनि राम्रो उब्जनी हुन्छ ।

नहर निर्माण भएर मात्र हुदैन किसानलाई चाहिएको समयमा पानी आउने व्यवस्था मिलाउन नगर प्रमुख यादवले सम्बन्धित निकायलाई आग्रहसमेत गरेका छन् ।

जिल्लाका ६ वटा पालिका अन्तर्गतको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाई गर्ने उदेश्यले विस २०४५ सुरु भएको बबई सिँचाई आयोजनाका निर्देशक सुशील चन्द देवकोटाले बताए । मुल नहर ४ किलोमिटर र शाखा नहर ११ किलोमिटर निर्माणको लागि भ्याटबाहेक ८३ करोड बजेटको काम सुरु भएको निर्देशक देवकोटाले जनाए । नहरको निर्माण सम्पन्न कार्य अवधि विस २०८३ माघभित्र तोकिएको छ ।

‘बबई नदिको पुर्वतर्फ करिब २१ हजार हेक्टर सिँचाई गर्न संरचना निर्माण गरिसकेका छौं,निर्देशक देवकोटाले भने,‘पश्चिमतर्फ ४१ किलोमिटर मुल नहर बनाउनुपर्ने तर, अहिलेसम्म करिब २८ किलोमिटर मुल नहर बनाईसकेका छौं ।’ १३ किलोमिटर मुल नहर बनाउन बाँकी छ । निर्माण हुन बाँकी रहेको नहरको ठेक्का अघि बढेको छ ।

बाँकी रहेको मुल नहर अन्तर्गत गुलरियाको करिब ६ हजार हेक्टर कृषि योग्य खेत पर्दछ । आगामी तीन वर्षभित्र गुलरिया नगरपालिका अन्तर्गतको ६ हजार हेक्टर कृषि योग्य खेतको सिँचाई गर्ने संरचना निर्माण गर्छौ । सबैले साथ दिए तीन वर्षभित्र बबई सिँचाई अयोजना सम्पन्न गर्ने निर्देशक देवकोटाले दावी गरे ।

नहर निर्माणले किसानलाई सहजता हुने नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘बढी रकम खर्चेर मोटर, बोरिङ्ग लगाएर किसानहरु सिचाई गर्न बाध्य थिए,’अध्यक्ष घिमिरेले भने,‘नहर निर्माण भएपछि त्यो बाध्यता हट्नेछ ।’

नहर निर्माणको लागि स्वच्छन्द निर्माण सेवा काठमाडौंले ठेक्का पाएको छ भने काम सम्पन्न गर्ने ब्ल्याक बक कन्स्ट्रक्शन गुलरियाले जिम्मा पाएको छ । सबैले साथ दिए एक वर्षमा काम सम्पन्न गर्ने योजना रहेको ब्ल्याक बक कन्स्ट्रशनका संचालक बिमल केसीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP