Atv News

बर्दिया,माघ ८

लागु औषध दुव्र्यसन नियन्त्रण तथा ओसार पसार न्युनिकरण र मानव बेचबिखन सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । जिल्ला सुरक्षा समितिको आयोजना र गुलरिया नगरपालिकाको सहकार्यमा गुलरिया नगरपालिका–११ गणेशपुर (लौकाही नाका)मा सोमबार सडक नाटक प्रदर्शन गरिएको हो ।

प्रहरीको तथ्यांक अनुसार जिल्लामा लागु औषध सम्बन्धि अपराध एक नंम्बरमा रहेको देखिन्छ । यसलाई न्युनिकरण गर्न जिल्ला सुरक्षा समितिले चासो देखाई अभियान चलाईरहेको छ ।

सडक नाटक मार्फत लागु औषध नियन्त्रण तथा ओसार पसार न्युनिकरण र मानव बेचबिखन जस्ता अपराधिक कार्य नगर्न स्थानीय सर्वसाधारणलाई सचेत गराईएको छ ।

लागु औषधको लतमा फसेपछि के कस्ता अपराधिक घटना हुन सक्ने समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापालगायतका कलाकारले नाटकमा प्रस्तुती देखाएका थिए ।

त्यसैगरि लागु औषध सेवन, ओसार पसार र मानव बेचबिखनमा संलग्न भएको ठहरिएमा के कस्ता दण्ड सजाय हुन सक्ने जानकारीसहित यस्ता अपराधिक कार्य नगर्न नाटकमा संलग्न कलाकारहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।

लागु औषध समयमा न्युनिकरण गरिएन भने भोलिका दिनमा हाम्रा बालबालिकालाई धेरै असर पु¥याउने गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले धारणा राखिन् ।
लागु औषध न्युनिकरण सम्बन्धि जिल्ला सुरक्षा समितिले चलाएको तीन महिने अभियान प्रभावकारी भईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । लागु औषधका सेवनकर्तालाई यस प्रकारको जनचेतनामुलक नाटकले निरुत्साहित गर्ने अध्यक्ष घिमिरेले विश्वास व्यक्त गरे ।

लागु औषध न्युनिकरणको लागि सिमामा सुरक्षाकर्मी खटिरहेको उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र (मंगल)पाण्डेले बताए । खुल्ला सिमानाका कारण विभिन्न बहाना पारी भारतीय बजार जाने लागु औषध सेवन गर्ने र ल्याउने कार्य भईरहेको छ । हामी अभिभावकले पनि आफ्नो बालबालिकाले के गरेको छ भनेर निगरानी गर्नुपर्ने अध्यक्ष पाण्डेले भनाई राखे ।

गणेशपुर लौकाही सिमानाबाट दैनिक जसो धेरै मानिसहरु आवत जावत गर्ने र लागु औषधका हिसाबले कारोबार हुन सक्ने स्थान रोजेर यहाँको समुदायलाई लक्षित गरेर सडक नाटकको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् ।

‘नाटकले लागु औषध सेवन गरेको व्यक्तिको वास्तविकतालाई जोडेर लागु औषध सेवन गर्दा देखिन सक्ने लक्षण, असर, उसले गर्ने बानी व्यवहार देखाईएको छ,’प्रजिअ शर्माले भनिन्,‘यस जनचेतनामुलक नाटकले सर्वसाधारणलाई यस्ता गलत काममा नलाग्ने सन्देश दिएको छ ।’ प्रजिअ शर्माका अनुसार लागु औषध न्युनिकरण गर्न यस्ता जनचेतनामुलक कार्यक्रम अन्य पालिका र समुदाय स्तरमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP