२८ माघ, काठमाडौं । राष्ट्रिय गौरवका आयोजना ‘कछुवा गति’ मा रहेको सरकारी तथ्यांकले छर्लङ्ग पार्छन् । सरकारले २७ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको छ ।
तीमध्ये चालु आर्थिक वर्ष २०८१/८२ मा १९ आयोजनाले बजेट पाएका थिए । यी आयोजनामा चालु आव सरकारले ६६ अर्ब ७५ करोड ३ लाख विनियोजन गरेको थियो । त्यसमध्ये पुस मसान्त (६ महिना) सम्म १७ अर्ब १५ करोड ३२ लाखमात्र खर्च भएको छ ।
गौरवका आयोजनाले आर्थिक वर्ष आधा समय घर्किंदा लक्ष्यको २५.७० प्रतिशतमात्र बजेट खर्च गर्न सकेका छन् । आयोजनागत हेर्दा हरेकजसो आयोजनाको प्रगति दयनीय छ ।
कतिपय आयोजना तीन दशक अगाडिदेख सुरु भएका हुन् । ‘राष्ट्रिय गौरव’ घोषणा गरिए पनि चुस्त आयोजना व्यवस्थापन अभावमा प्रगति भने सुस्त छ । यसले आयोजनाको लागत हरेक वर्ष बढिरहेको समेत देखिन्छ ।
मध्यपहाडी राजमार्गः लागत ३३ अर्बबाट पुग्यो ८४ अर्ब
पूर्वपश्चिम मध्यपहाडी राजमार्ग (पुष्पलाल मार्ग) आव २०६४/६५ देखि सुरु भएको थियो । १ हजार ८ सय ७९ किलोमिटर लम्बाइको यो सडक पूर्व पाँचथरदेखि पश्चिम बैतडीसम्म फैलिएको छ । यो आयोजनाको थपिएको अवधि २०८४/८५ हो ।
प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रहेको यो आयोजनाको लागत बढेर ८४ अर्ब ३३ करोड पुगिसकेको छ । अघिल्लो आवसम्म यो आयोजनाको प्रगति ७७.३२ प्रतिशत थियो ।
यस वर्ष ३ अर्ब ६८ करोड बजेट विनियोजन भएको यो आयोजनामा पुस मसान्तसम्म १ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ । यो आयोजना अन्तर्गत अहिलेसम्म १ हजार ५ सय १३ किलोमिटर सडक बनिसकेको छ ।
हुलाकी राजमार्ग : १५ वर्षमा जम्मा ६६ प्रतिशत निर्माण
१ हजार ८ सय ५७ किलोमिटर लम्बाइको हुलाकी राजमार्ग आयोजना २०६६/६७ बाट निर्माण सुरु भएको थियो । यो आयोजनाको प्रगति ६६.०९ प्रतिशतमात्र छ । पछिल्लो समय यो आयोजना सक्ने अवधि २०८३/८४ सम्म पुर्याइएको छ ।
सुरु लागत ४७ अर्ब २४ करोड रहेको हुलाकी राजमार्गको लागत बढेर ६५ अर्ब २० करोड पुगिसकेको छ । यस वर्ष ४ अर्ब ३ करोड विनियोजन गरिएकोमा पुस मसान्तसम्म ३ अर्ब १९ करोड खर्च भइसकेको छ ।
यो आयोजनामा यसपालि ७९ प्रतिशत बजेट खर्च भइसकेको छ । अहिलेसम्म १ हजार ३ सय ६४ किलोमिटर सडक, ७ पुल र ३ कल्भर्ट निर्माण सम्पन्न भइसकेको देखिएको छ ।
कोशी करिडोर : निर्माणमा छैन गति
१ सय ६२ किलोमिटर लम्बाइको यो सडक २०६५/६६ देखि सुरु भएको थियो । सुरु लागत ११ अर्ब ९३ करोड थियो । अहिले बढेर १६ अर्ब २० करोड पुगिसकेको छ । आयोजनाको भौतिक प्रगति ४८ प्रतिशतमात्र छ ।
पछिल्लो विवरण अनुसार यो आयोजना सक्नुपर्ने मिति २०८३/८४ हो । चालु आव ६ महिनामा यो आयोजनाले ३९ करोड २० लाख खर्च गरेको छ । आयोजनामा अहिलेसम्म ३.५ किलोमिटर मात्र कालोपत्र भएको छ । खण्डस्मिथ ८० किलोमिटर र ७९ किलोमिटर कच्ची सडक बनाइएको छ ।
उता, नेपाली सेनाले बनाइरहेको १०.५१ किलोमिटर लम्बाइको खाँदबारी–किमाथांका सडकको भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । यो आयोजना चालु आव सकिसक्नुपर्ने छ । यो आयोजनाको ७.३० किलोमिटर ट्र्याक खन्ने काम सकिएको छ ।
कालिगण्डकी करिडोर : ८४ प्रतिशत प्रगति
२ सय २ किलोमिटर लम्बाइको कालिगण्डकी करिडोर निर्माण २०६६/६७ देखि सुरु भएको थियो । अहिलेसम्म ८४ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । १० अर्ब रुपैयाँ लागतको यो आयोजनामा अहिलेसम्म ९३.५ किलोमिटर सडक कालोपत्र भइसकेको छ । १ सय २० किलोमिटर खण्डस्मिथ र २७ किलोमिटर कच्ची छ । ६ पुल निर्माण भइसकेका छन् ।
कर्णाली करिडोर : बढ्दो लागत, छैन प्रगति
१ सय ४५ किलोमिटर लामो कर्णाली करिडोर २०६५/६६ देखि सुरु भएको थियो । २०८३/८४ सम्म सक्नुपर्ने लक्ष्य रहेको यो आयोजनाको भौतिक प्रगति ३० प्रतिशतमात्र छ । सुरु लागत ४ अर्ब १० करोड रुपैयाँ रहेको यस आयोजनाको लागत बढेर ६ अर्ब ६६ करोड पुगिसकेको छ ।

यो सडकको अहिलेसम्म कालोपत्र गर्ने काम नै सुरु भएको देखिँदैन । नेपाली सेनातर्फ लालिबगर–दुल्लीकुन्ना खण्डको २२.०५ किलोमिटर सडकको ७२.५६ प्रतिशत काम सकिएको छ । यस खण्डमा १५.३५ किलोमिटर ट्र्याक खन्ने काम सकिएको छ ।
रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना : ५ प्रतिशत प्रगति
प्रारम्भमा पूर्वपश्चिम रेलमार्ग विकाससँगै सुरु भएको यो आयोजना अन्तर्गत कुल १ हजार ३ किलोमिटर रेलमार्ग निर्माण लक्ष्य छ । अहिले ७० किलोमिटर रेलमार्ग मात्र कार्यान्वयनमा छ ।
२०६५/६६ देखि सुरु भएको आयोजना सक्ने अवधि यकिन छैन । ७० अर्ब ६२ करोड रुपैयाँ प्रारम्भिक लागतको यो आयोजनाको लागत बढेर ९ खर्ब ५५ अर्ब पुगेको छ ।
जसमा मेट्रो, मोनोरेल सहित आयोजना समेत रहेका छन् । यो आयोजना अन्तर्गत अहिलेसम्म बर्दीवास चोचा रेलमार्ग खण्डमा ६ किलोमिटर ट्र्याक बेड र ४ पुल निर्माण भएका छन् ।
काठमाडौं–तराई/मधेस द्रुतमार्ग : ३५.३८ प्रतिशतमात्र प्रगति
आव २०७३/७४ देखि निर्माण थालिएको ७०.९७७ किलोमिटर लामो काठमाडौं–तराई मधेस द्रुतमार्गको भौतिक प्रगति ३५.३८ प्रतिशतमात्र छ । सुरु लागत १ खर्ब १६ अर्ब रुपैयाँ रहेकोमा यस आयोजनाको संशोधित लागत २ खर्ब ११ अर्ब पुगिसकेको छ ।
२०८५/८६ सम्म सक्नुपर्ने लक्ष्य छ । यस वर्ष पुससम्म ५ अर्ब ३१ करोड रुपैयाँ खर्च भइसकेको छ । यस आयोजनामा सुरुङ निर्माणको काम धमाधम भइरहेको छ ।
निजगढ विमानस्थल : छैन बनाउने सुरसार
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना २०७१÷७२ देखि नै सुरु भए पनि निर्माण भने अझै थालिएको छैन । आयोजना सक्ने अवधि पनि यकिन छैन । सुरु लागत १ खर्ब ६५ अर्ब लागत अनुमान गरिएको छ । यस वर्ष सरकारले २५ करोड बजेट छुट्याएको भए पनि खर्च भइसकेको छैन ।
बुढीगण्डकी जलविद्युत् आयोजना : मुआब्जा वितरणमै सीमित
आव २०६९/७० देखि सुरु भएको यो आयोजना अहिलेसम्म मुआब्जा वितरणमा मात्र सीमित छ । १ हजार २ सय मेगावाटको यो आयोजना २०८५/८६ सम्म सक्ने लक्ष्य रहे पनि अहिलेसम्म निर्माण सुरुसार छैन । सुरु लागत २ खर्ब ६० अर्ब रुपैयाँ अनुमान गरिएको यो आयोजनाको लागत बढेर ३ खर्ब ९८ अर्ब पुगिसकेको छ ।
पश्चिम सेती जलविद्युत् आयोजना : अवधारणामै सीमित
यो आयोजना सन् २०२५ मा सुरु गरी २०३० सम्म सक्ने लक्ष्य छ । आयोजना अहिलेसम्म अवधारणामै सीमित छ । निर्माण मोडालिटी समेत तय भइसकेको छैन ।
बबई सिँचाइ : ३६ वर्ष पुरानो आयोजना
यो आयोजना आव २०४५/४६ देखि सुरु भएको थियो । ३६ वर्ष पुरानो आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत पुगेको छ । सुरु लागत २ अर्ब ८७ करोड रहेको आयोजनाको संशोधित लागत १८ अर्ब ९६ करोड पुगिसकेको छ ।
महाकाली सिँचाइ : प्रगति २२.१८ प्रतिशत
२०६३/६४ देखि सुरु यस आयोजनाको भौतिक प्रगति २२.१८ प्रतिशतमात्र पुगेको छ । यो आयोजना २०८७/८८ सम्म सक्ने गरी अवधि बढाइएको छ । यो आयोजना ३५ अर्ब लागतमा बन्दैछ ।
सिक्टा सिँचाइ : आधा प्रगति
२०६१÷६२ देखि निर्माण सुरु भएको यो आयोजनाको भौतिक प्रगति ४१.५८ प्रतिशतमात्र छ । आयोजनाको लागत १२ अर्ब ८० करोडबाट बढेर ५२ अर्ब ८९ करोड पुगिसकेको छ । आयोजनाको म्याद लम्ब्याएर २०८९/९० पुर्याइएको छ ।
रानी–जमरा–कुलरिया सिँचाइ आयोजना : अवधि सकिनै लाग्दा ७४ प्रतिशत प्रगति
यो आयोजना २०६७/६८ देखि सुरु भएको थियो । सक्ने लक्ष्य २०८२/८३ हो । तर, अहिलेसम्म ७४.३६ प्रतिशतमात्र काम सकिएको छ । आयोजनाको सुरु लागत १२ अर्ब ३७ करोड रहेकोमा बढेर २७ अर्ब ७० करोड पुगिसकेको छ ।
भेरी–बबई डाइभर्सन : सुरुङ खनेपछि रोकियो गति
२०६८/६९ देखि सुरु भएको यो आयोजना २०८४/८५ मा सक्ने लक्ष्य छ । तर, भौतिक प्रगति ६५.८० प्रतिशतमात्र छ । यो आयोजनामा सुरुङ निर्माणको काम फटाफट भए पनि अन्य संरचनामा निर्माणले गति लिएको छैन ।
यो आयोजनाबाट ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६.८ मेगावाट विद्युत् उत्पादन लक्ष्य छ । आयोजनाको लागत १६ अर्ब ४३ करोडबाट बढेर ३६ अर्ब ८० करोड पुगिसकेको छ ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना : सुरुङ खनियो, अरू काम सुस्त
यो आयोजना २०७३/७४ देखि सुरु भएको थियो । २०८४/८५ मा सक्नुपर्ने लक्ष्य छ । अहिलेसम्म भौतिक प्रगति ३४.४० प्रतिशतमात्र छ । आयोजनाको सुरुङ खन्ने काम सकिए पनि अन्य कामले गति लिन सकेको छैन । यो आयोजनाबाट १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई र २८ मेगावाट विद्युत् उत्पादन लक्ष्य छ ।
एमसीए नेपाल : प्रगति ८.०८ प्रतिशत
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल) आयोजना २०७४/७५ देखि अगाडि बढेको थियो । कार्यान्वयन सुरु भएको ५ वर्षमा सक्ने गरी अघिल्लो आवबाट काम सुरु भएको आयोजनाको भौतिक प्रगति ८.०८ प्रतिशत पुगेको छ । यो आयोजनाको लागत ६९ करोड ७० लाख अमेरिकी डलर बराबर छ ।
अन्य आयोजनाको अवस्था के छ ?
राष्ट्रिय गौरवका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको काम सम्पन्न भई पानी वितरण भएको छ । तर, आयोजनालाई बाढीले क्षति पुर्याउँदा सबै महिना पानी आउने वातावरण बन्न सकेको छैन । दोस्रो चरणको काम सुरु भएको छैन ।
उता, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेका छन् । यी विमानस्थल सञ्चालनमा छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समेत निर्माण सम्पन्न भई सञ्चालनमा छ ।
सरकारले मूलपानी क्रिकेट रंगशाला, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई अघिल्लो वर्षमात्र राष्ट्रिय गौरवमा समावेश गरेका हुन् । यी आयोजनाको पछिल्लो प्रगति विवरण उपलब्ध छैन ।सभारअन्लाईनखबर