
ए.टिभी न्युज नेपाल
१६ वैशाख,काठमाडौं
संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबार बसेको बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विस्तृत छलफल गर्दै उपसमिति गठन गर्ने निर्णय गरिएको छ। समितिका सभापति माननीय अब्दुल खानको अध्यक्षतामा बसेको बैठकले विधेयकको अध्ययन, छलफल र कार्यसम्पादन सहजीकरणका लागि उपसमिति गठन गर्ने निर्णय लिएको हो।
उपसमितिमा नौ जना सांसद गठन गरिने उपसमितिको संयोजक सभापति अब्दुल खान स्वयम् रहनेछन् भने अन्य सदस्यहरूमा कान्तिका सेजुवाल, कृष्ण कुमार श्रेष्ठ, गणेश पराजुली, रणेन्द्र बराली, रमा कोइराला पौडेल, रेखा यादव, सान्ती चौधरी, र हेमराज राई रहने निर्णय गरिएको छ।
कार्ययोजना पनि परिमार्जनसहित पारित
बैठकले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ सम्बन्धी प्रस्तावित कार्ययोजना आवश्यक परिमार्जनसहित पारित गरेको छ। साथै, समितिको क्षेत्राधिकारभित्रका विषयमा गहन अध्ययन तथा अनुसन्धानका लागि उपसमिति गठन गर्न सकिने निर्णयसमेत गरिएको छ।
बैठकपछि सभापति माननीय अब्दुल खानले भने, “देशको व्यापार नीति, श्रमिक हित र उपभोक्ताको संरक्षणसँग जोडिएको यो विधेयक निकै महत्वपूर्ण छ। हामी विधेयकको सबै पक्षमा गहन अध्ययन गरी कार्यान्वयनमा कुनै समस्या नपर्ने गरी सुझाव दिनेछौं। उपसमितिले आवश्यक अनुसन्धान र सरोकारवालासँग परामर्श गरेर एक सक्षम र व्यावहारिक प्रतिवेदन तयार पार्नेछ।
उनले समिति अन्तर्गत गठन गरिने अन्य उपसमितिहरूको कार्यादेश, कार्यक्षेत्र, संयोजक तथा सदस्यहरूको टुंगो अर्को बैठकमा लगाइने जानकारी पनि दिने बताएका हुन ।