
अफजल खान
बर्दिया, साउन १ / गुलरियाका ४० जनासहित ५३ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ। गुणरियाका ४० र बाँसगढी नगरपालिकाका १३ जना भूमिहीन सुकुम्बासीलाई बुधबार पुर्जा वितरण गरिएको हो ।
वि.सं. २०४६ देखि भोगचलन गर्दै आएको जग्गाको प्रमाण पुर्जा पाउँदा बाँसगढी नगरपालिका–४ का ७२ वर्षीय भीमबहादुर सुनारले खुसी साटे । लामो समयको पर्खाएपछि पुर्जा पाउँदा खुसी लागेको सुनाए।
‘गुलरियामा सुकुम्बासीका लागि जग्गा नाप जाँचको काम तीव्र गतिमा भइरहेको थियो,’ गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले भने, ‘तर, गुलरिया–२ स्थित संगम बस्तीमा भइरहेको काम डिभिजन वन कार्यालयले रोकेको छ ।’ वन क्षेत्र नभएको ठाउँमा वनले हस्तक्षेप गरेको नगर प्रमुखले आरोप लगाए । यो समस्याको तत्काल समाधानका लागि संसदमा आवाज उठाउन नगर प्रमुख यादवले संघीय सांसद तथा पूर्वमन्त्री संजयकुमार गौतमसँग आग्रहसमेत गरे ।
भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूको समस्या समाधानका लागि सबै जना मिलेर काम गर्नुपर्ने संघीय सांसद तथा पूर्वमन्त्री गौतमले बताए । ‘वास्तविक भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले जग्गा प्राप्त गर्नुपर्छ,’ उनले भने, ‘भूमिहीनका नाममा अरू नै व्यक्तिले फाइदा लिन खोज्छन् भने त्यसतर्फ आयोगका साथीहरू चनाखो हुन जरुरी छ ।’
यही आर्थिक वर्षमा केही उपलब्धि निकाल्न गरेको अठोट अनुसार सुकुम्बासीलाई आज जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा धेरै खुसी भएको भूमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरूणप्रकाश सिंह राठोरले बताए । ‘यस कार्यमा सघाउने सबैलाई धन्यवाद छ,’ उनले भने, ‘भूमिहीन दलित र सुकुम्बासीलाई जग्गाधनीको प्रमाण पुर्जा वितरणको गति रोकिने छैन ।’
भूमि समस्या समाधान आयोग समिति बर्दियाका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी ४५ हजार बढीले जग्गा दर्ता प्रमाण पुर्जा प्राप्तीका लागि निवेदन दिएका छन् ।
गुलरिया र बाँसगढी नगरपालिकाको समन्वय र सहकार्यमा भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दियाले जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको छ।
लामो समयपछि भोग चलन गर्दै आएको जग्गाको प्रमाण पुर्जा प्राप्त गर्दा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको खुसी देखिएका थिए । जोतभोगको आधारमा एक परिवारलाई १२ धुरदेखि डेढ कट्ठासम्म जग्गाको प्रमाण पुर्जा दिइएको जनाइएको छ ।