
अफजल खान
बर्दिया,साउन २/लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–६ का ३२ वर्षीय नफिस अहमद मनिहार र सोही वडाका ३५ वर्षीय असगर अलि तेलीलाई प्रहरीले लागू औषधसहित बिहीबार पक्राउ गरेको हो ।
गुलरिया नगरपालिका–७ स्थित बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लुकाई छिपाई राखेको लागू औषध फेला परेको प्रहरीले जनाएको छ । मनिहारको साथबाट १ सय १० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो धुलो पदार्थ र तेलीको साथबाट २ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध चरेस जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए ।
दुवै जनालाई नियन्त्रणमा लिई शुक्रबार अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको डीएसपी डमरपालले जनाए ।