Trend
शनिबार , जेठ २३, २०८३

नेपालले जनसांख्यिक लाभको अवसर पाएको छ । यसलाई सदुपयोग गर्न युवालाई प्रविधिसँग जोड्न जरुरी छ,’ मन्त्री तिमिल्सिनाले भने

 

पाल्पा । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यार्थीमा असल चरित्र निर्माणका लागि शैक्षिक संस्थाहरुले अझ बढी भूमिका बढाउनुपर्ने बताएका छन् ।

शनिबार पाल्पा टेक्निकल इन्स्टिच्युटको ३० औं वार्षिकोत्सव तथा तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले उत्तीर्ण हुनु मात्र ठूलो कुरा नभई असल संस्कार, अनुशासन र चरित्र निर्माण गर्न सक्नु नै जीवनको महत्त्वपूर्ण पक्ष हुने बताएका हुन् ।

‘आरोप प्रत्यारोप लगाएर विकास हुँदैन । नेपालले जनसांख्यिक लाभको अवसर पाएको छ । यसलाई सदुपयोग गर्न युवालाई प्रविधिसँग जोड्न जरुरी छ,’ मन्त्री तिमिल्सिनाले भने ।

उनले नेतृत्व जनता सँग टाढा भाग्न नहुने भन्दै शिक्षा विधेयकमा संघीय सरकारले शिक्षकको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा पाल्पा टेक्निकल इन्स्टिच्युटले वार्षिक प्रतिवेदन २०८२ सार्वजनिक गर्दै हाल सञ्चालनमा रहेका कार्यक्रम, उपलब्धि र चुनौतीबारे जानकारी गराएको थियो ।

२०५२ सालमा स्थापना भएको इन्स्टिच्युटले सुरुवाती दिनदेखि प्राविधिक एसएलसी तहका विभिन्न कार्यक्रम सञ्चालन गरेको भए पनि पछिल्ला नीतिगत निर्णयका कारण कतिपय कार्यक्रम बन्द भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल संस्थामा हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन कार्यक्रम सञ्चालन भइरहेका छन् ।

प्रतिवेदन अनुसार हाल १४ जिल्लाबाट १३९ विद्यार्थी अध्ययनरत छन् । यस वर्ष पहिलो ब्याचका हेल्थ असिस्टेन्ट विद्यार्थीले अन्तिम परीक्षा दिएर दीक्षान्त कार्यक्रममा सहभागी भएका छन् ।

इन्स्टिच्युटका लागि दुईवटा पक्की भवनमा ४२ कोठासहित कक्षा कक्ष, ल्याब, पुस्तकालय, सभा हल, छात्रावास र सुरक्षा व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ । विद्यार्थीलाई प्रायोगिक अध्ययनका लागि अस्पताल तथा विभिन्न स्वास्थ्य संस्थामा पठाउने गरिएको जानकारी पनि दिइयो ।

संस्थाले प्रत्येक वर्ष १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिने, अनुशासन र शैक्षिक उत्कृष्टतामा पुरस्कार प्रदान गर्ने परम्परा रहेको प्रतिवेदनमा जनाइएको छ । यसैगरी अतिरिक्त क्रियाकलाप, जनचेतनामूलक कार्यक्रम र शिक्षक अभिवृद्धिका तालिम सञ्चालन गर्ने कार्य हुँदै आएको छ ।

भविष्यमा ई-लाइब्रेरी, थप प्रयोगशाला सामग्री, शिक्षक तालिम र नयाँ कार्यक्रम सञ्चालन गर्ने योजनासहित प्रतिवेदनमा प्राविधिक शिक्षा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

समारोहमा दीक्षान्त प्राप्त विद्यार्थीलाई सम्मान गरिनुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP