काठमाडौं, २९ भदौ । राजधानीस्थित रिपोर्टर्स क्लबमा आइतबार ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ पत्रकार सम्मेलनका क्रममा युवाहरू र पत्रकारहरूको आक्रोशको शिकार बने ।
करिब ७० जनाको ज्यान गइसके पनि आन्दोलनले अपेक्षित उपलब्धि हासिल नगरेको भन्दै जेन–जी युवा तथा सञ्चारकर्मीहरूले गुरुङमाथि कठोर प्रश्नहरू उठाए । उनले आन्दोलनका उपलब्धि सुनाउन खोज्दा हलमै युवाहरू मञ्चसम्म उक्लिएर उनलाई घेराउ गरे । यस क्रममा क्लब अध्यक्ष ऋषि धमलाले उनलाई जोगाउनुपरेको थियो ।
गुरुङले आफूलाई कहिले ‘बारबरा फाउन्डेशन’, कहिले ‘फ्री–तिब्बत’सँग जोडिएको भन्ने आरोप लगाइएको भन्दै गुनासो गरे । “हामी आन्दोलनका दिन बानेश्वरमै थियौँ, हाम्रो ज्याकेटमा अझै रगतको दाग छ,” भन्दै उनले हिंसात्मक गतिविधि भने राजनीतिक दलका कार्यकर्ताबाट भएको दाबी गरे ।
“म नेपालको छोरो हुँ, मलाई भारतीय नभन्नु,” भन्दै उनले आफ्नो पहिचानमाथि प्रश्न उठाउन नदिन चेतावनी पनि दिए । उनले कुनै सरकार पनि आफूहरूको मागअनुसार नचले ढल्ने दाबी गर्दै, “अब एक्लै भए पनि लड्छु, जबसम्म परिवर्तन हुँदैन लडिरहन्छु,” भने ।
उनका अभिव्यक्तिपछि युवाहरू आक्रोशित बने । ७३ वर्षीया सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएर परिवर्तन सम्भव नभएको भन्दै युवाहरूले प्रश्न गर्दा वातावरण थप तनावग्रस्त बन्यो । गुरुङले आगजनी आफूहरूले नगरेको दाबी गर्दै आन्दोलनको अन्त्य पनि आफूहरूले गर्न सक्ने बताएका थिए ।
पत्रकार सम्मेलनमा उनले सुरुमा आक्रामक शैली अपनाएको भन्दै पत्रकारहरूले आपत्ति जनाए । अध्यक्ष धमलाले “नम्र भएर बोल्नुस्” भनेपछि उनले प्रेसको भूमिकाको प्रशंसा गरे पनि तलबाट युवाहरूको चर्को प्रश्नोत्तर जारी रह्यो । प्रत्यक्ष निर्वाचित कार्यकारी, संसद् विघटन र आगामी आन्दोलनबारे प्रश्नहरू उनले सामना गर्नुपर्यो ।
कार्यक्रम सकिएलगत्तै भृकुटीमण्डपमा जेन–जी आन्दोलनका युवा र पत्रकार पक्षबीच झडप भएको छ । हात हालाहालसम्म पुगेको स्थितिमा गुरुङलाई उनका समर्थकहरूले घेराबन्दी गर्दै सुरक्षित स्थानतर्फ लैजानुपरेको थियो ।






