सबैभन्दा पहिलो र ठुलो कारण प्रविधिको प्रभाव हो। अहिलेका बालबालिकाहरू मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको संसारमा डुबिसकेका छन्।
कृष्ण बहादुर बिश्वकर्मा
बर्दिया / आजको आधुनिक युगमा प्रायः बालबालिका बुवाआमाको भनाइ नमान्ने प्रवृत्ति तीव्र गतिमा बढ्दो क्रममा छ। जहाँ पहिलेका पुस्ताले बुवाआमालाई भगवान सरह मान्थे, आजका बालबालिकाहरू उनीहरूलाई मात्र सल्लाह दिने ठान्छन्, तर बुबा आमाको आदेश पालन गर्न चाहँदैनन्। यस परिवर्तनको पछाडि सामाजिक, प्राविधिक, पारिवारिक र मानसिक धेरै कारणहरू लुकेका छन्।
सबैभन्दा पहिलो र ठुलो कारण प्रविधिको प्रभाव हो। अहिलेका बालबालिकाहरू मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको संसारमा डुबिसकेका छन्। उनीहरू टिभी, युट्युब, टिकटक, गेम जस्ता सामाजिक मिडियाबाट धेरै कुरा तर तीसिक्न चाहान्छन तर सबै कुरा सकारात्मक हुँदैनन् ।
प्रविधिबाट आएको गलत जानकारी, झुठा बकवास र आकर्षक जीवनशैलीले उनीहरूलाई भ्रममा पारिरहेको छ। उनीहरू बुवाआमाको सल्लाह भन्दा इन्टरनेटका व्यक्तिलाई बढी विश्वास गर्न थालेका छन्। दोस्रो कारण पारिवारिक समयको कमी हो।
पहिले संयुक्त परिवार प्रचलनमा थियो, जहाँ हजुरबुबा, हजुरआमाले बच्चालाई संस्कार सिकाउँथे, अनुशासन सिकाउँथे। अहिले अधिकांश परिवारहरू एकल भएका छन्। बुवाआमा दुवै काममा व्यस्त हुने भएकाले बच्चासँग संवाद र भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको छ।
बच्चाले आफ्नो कुरा बुझ्ने कोही नपाएपछि उनीहरू बाहिरी साथी वा अनलाइन संसारतिर आकर्षित हुन्छन्, जसले उनीहरूको सोच र व्यवहारमा नकारात्मक असर पार्छ। तेस्रो कारण साथीहरूको प्रभाव र सामाजिक दबाब हो। अहिलेका बालबालिकाले साथीहरूसँग रहँदा उनीहरूको व्यवहार नक्कल गर्छन्। साथीहरू धुम्रपान गर्छन् भने उनी पनि गर्न थाल्छन्, साथीहरूले पढाइलाई बेवास्ता गर्छन् भने उनीहरू पनि त्यस्तै बन्छन्। यसरी उनीहरू राम्रा संस्कार भन्दा गलत बाटोमा लाग्न सक्छन्। चौथो कारण पश्चिमी संस्कृतिको प्रभाव पनि हो।
अहिलेका चलचित्र, गीत र मिडियामा बुढापाकाको सम्मान भन्दा स्वतन्त्रताको महत्त्व बढी दिइन्छ। यसले बालबालिकामा “हामीलाई कोही रोक्न सक्दैन” भन्ने भावना जन्माउँछ। यी सबै कारणले गर्दा धेरै बालबालिकाहरू अहिले कुलतमा फस्दै गएका छन्। जस्तै— धुम्रपान, मदिरा, मोबाइल गेमको लत, अनलाइनको दुरुपयोग, झगडा र अनुशासनहीनता। यसले उनीहरूको अध्ययन, भविष्य, र पारिवारिक सम्बन्धमा ठुलो क्षति पुर्याइरहेको छ। यस समस्याको समाधानका लागि बुवाआमाले आफ्ना सन्तानसँग विश्वास र प्रेमको सम्बन्ध कायम गर्नुपर्छ। बच्चाको कुरा सुन्ने, समस्या बुझ्ने र मित्रवत व्यवहार गर्ने प्रयास गर्नुपर्छ। बिनाकारण कराउने वा डर देखाउने प्रवृत्ति घटाउन जरुरी छ।
विद्यालय र शिक्षकहरूले पनि चरित्र निर्माण र अनुशासनमा जोड दिनुपर्छ। बालबालिका हाम्रो राष्ट्रको भविष्य हुन्। यदि आज उनीहरूलाई सही बाटोमा अघि बढाउन सक्यौं भने भोलिको समाज नै सशक्त र सभ्य बन्नेछ। त्यसैले बुवाआमा, शिक्षक र समाज सबैले मिलेर बालबालिकालाई माया, अनुशासन र मूल्य शिक्षाको वातावरणमा हुर्काउनुपर्ने अत्यावश्यक आवश्यकता आजको समयमा देखिन्छ।






