मस्जिद तोडफोड घटनाविरुद्ध वीरगन्ज तनावग्रस्त, मुस्लिम समुदाय सडकमा
वीरगन्ज : धनुषामा मस्जिद तोडफोड भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै वीरगन्जमा आइतबार मुस्लिम समुदायले व्यापक प्रदर्शन गरेका छन्। शनिबार धनुषाको धनुकमला नगरपालिका–६ सखुवा मरानस्थित मुस्लिम टोलमा रहेको मस्जिदमा अज्ञात समूहद्वारा तोडफोड गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विरोध चर्किएको हो।
घटनाको विरोधमा मुस्लिम समुदायका अगुवाइमा आइतबार बिहानैदेखि वीरगन्जका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ। घण्टाघर, मुर्ली, छपकैया स्थित इद्यगाहा चोक लगायतका क्षेत्रमा प्रदर्शनकारीले सडक अवरुद्ध गर्दै टायर बालेर नाराबाजी गरेका छन्।
प्रदर्शनकारीहरूले धार्मिक स्थलमाथि भएको आक्रमणलाई गम्भीर आपराधिक घटना भन्दै दोषीलाई तत्काल पहिचान गरी कडा कारबाहीको माग गरेका छन्। प्रदर्शनका कारण ती क्षेत्रको यातायात आंशिक रूपमा प्रभावित भएको छ भने सुरक्षा व्यवस्था कडा बनाइएको छ।
स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्था नियन्त्रणमा रहेको दाबी गर्दै घटनाको अनुसन्धान सुरु भइसकेको जनाएको छ।






