लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ
अफजल खान्✍️
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागुऔषध कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२/१०/११ गते राति करिब ९:५० बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बाँसगढी नगरपालिका वडा नं. ५ स्थित पुरानो गोल्डेन फ्युचर स्कुल नजिक बर्दे सिँचाइ नहरको दक्षिण किनाराबाट उनीहरूलाई पक्राउ गरेको हो।
भारत उत्तर प्रदेश, बहराइच थाना मिठौली बस्ने २१ वर्षीय हरिव यादव ले चलाएको UP32PT7410 नम्बरको भारतीय नम्बर प्लेट भएको सेतो–कालो इन्डिगो कार जाँच गर्दा कारमा सवार भारतकै २२ वर्षीय अंकित कुमार को साथबाट लुकाइछिपाइ राखिएको कालो प्लास्टिकभित्र ३७० ग्राम ३७० मिलिग्राम प्लास्टिकसहित ३१२ ग्राम ४५० मिलिग्राम शुद्ध लागुऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट प्रयोग गरिएको कार, १ थान आइफोन र १ थान भिभो कम्पनीको स्क्रिन टच मोबाइल समेत बरामद गरेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतिपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।





