निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ
छनौट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेपछि घटनाले थप राजनीतिक र प्रशासनिक चासो तानेको छ।
अफजल खान✍️
बर्दिया , गुलरिया माघ १३ / बर्दियामा निर्वाचन प्रहरी छनौट प्रक्रिया निष्पक्ष नभएको आरोपसहित आवेदक उम्मेदवारहरूले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन्। पहुँच र पावरको आधारमा छनौट गरिएको दाबी गर्दै उम्मेदवारहरू सोमबार जिल्ला प्रहरी कार्यालय अगाडि नारा जुलुसमा उत्रिएका हुन्।
यस विषयमा प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले छनौटमा चित्त नबुझेका परीक्षार्थीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए नतिजा पुनरवलोकन गरिने जानकारी दिए। ‘निवेदन आएमा प्रक्रिया अनुसार पुनः जाँच हुन्छ,’उनले स्पष्ट पारे।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन प्रहरी बन्न बर्दियामा ४ हजार ४ सय जनाले आवेदन दिएका थिए। पहिलो चरणको लिखित परीक्षापछि ३ हजार ७३६ जना उत्तीर्ण भएका थिए। शनिबार र आइतबार अन्तर्वार्ता सम्पन्न भएपछि सोमबार राति २ हजार २५ जनाको अन्तिम सूची सार्वजनिक गरिएको थियो। साथै १३४ पुरुष र ६६ महिलालाई वैकल्पिक सूचीमा राखिएको छ।
छनौट प्रक्रियाको पारदर्शिता र निष्पक्षतामाथि प्रश्न उठेपछि घटनाले थप राजनीतिक र प्रशासनिक चासो तानेको छ।





