सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा
सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ । जिल्ला सुरक्षा समितिले आज गरेको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार बरामद गरिएको हो ।
अफजल खान
सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद भएपछि कारागार प्रशासन र सुरक्षा निकायमा हंगामा मच्चिएको छ। विशेष अनुगमनका क्रममा कारागारभित्र लुकाएर राखिएको एक थान कटुवा पेस्तोल र दुई थान गोली फेला परेपछि ‘नाइके’ भनिने इन्द्रजित यादवसहित १३ जना कैदीलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला सुरक्षा समितिले प्राप्त गरेको गोप्य सूचनाका आधारमा आज कारागारभित्र खानतलासी गर्दा उक्त हतियार नाइके यादवको साथबाट बरामद गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार आइतबार यादवको समूहले अन्य कैदीमाथि कुटपिट गर्दै करिब १० जनालाई कारागारबाट बाहिर निकाल्ने प्रयाससमेत गरेका थिए।
घटनामा संलग्न देखिएका १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको र उनीहरूलाई अन्य कारागार स्थानान्तरण गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ। नाइके यादव पक्राउ परेपछि उनका समर्थक कैदीहरूले कारागारभित्र नाराबाजी गर्नुका साथै आगजनी र तोडफोड गरेका थिए, जसपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
१५० जनाको क्षमता रहेको सिरहा कारागारमा हाल ४३७ जना कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदी राखिएकै कारण यसअघि पनि झडप र अशान्ति हुने गरेको छ। गत साउनमा भएको कैदीबीचको झडपमा १३ जना घाइते भएका थिए।
प्रशासनले कारागारको सुरक्षा अवस्था थप कडा बनाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।





