बर्दियाबाट काठमाडौंसम्म नयाँ सुविधा सम्पन्न बस सेवा सुरु
नयाँ बस सेवासँगै यात्रुहरूले अब आधुनिक सुविधा, आरामदायी सिट र सहज यात्राको अनुभव लिन पाउने विश्वास गरिएको छ।
अफजल खान✍️
बर्दिया, वैशाख ९— नयाँ वर्ष २०८३ को सुरुवातसँगै बर्दियामा आधुनिक यातायात सेवामा थप विस्तार भएको छ। बर्दिया कृष्णसार यातायात व्यवसायी प्रा.लि.को प्रधान कार्यालय गुलरिया, बर्दियाले “श्रीपेच होलिडेज” ब्रान्डअन्तर्गत स्लिपर भिआईपी सोफा सिटसहितको एसी बस सेवा सञ्चालनमा ल्याएको हो।

बर्दिया–काठमाडौं रुटमा सञ्चालनमा आएको उक्त बस सेवाको आज आयोजित एक कार्यक्रमबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उप-महासचिव शम्भु प्रसाद रिजाल र उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देबेन्द्र कुमार पाण्डे लगायतका अतिथिहरूले रिबन काटी औपचारिक रूपमा शुभारम्भ गरेका थिए।
कृष्णसार यातायात व्यवसायी संघका अध्यक्ष रवि मल्ल ठकुरीका अनुसार यात्रुहरूलाई आरामदायी र सुरक्षित यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ बस सेवा सुरु गरिएको हो। “श्रीपेच होलिडेज” ब्रान्डका सुविधा सम्पन्न बसहरू दैनिक एक/एक वटा बर्दियाबाट काठमाडौं र काठमाडौंबाट बर्दियातर्फ सञ्चालन हुनेछन्।
त्यसैगरी, यस कम्पनीले डिलक्स र एसीसहित बर्दियाबाट दैनिक तीन वटा रात्री बस सेवा सञ्चालनमा राखेको जनाएको छ। नयाँ बस सेवासँगै यात्रुहरूले अब आधुनिक सुविधा, आरामदायी सिट र सहज यात्राको अनुभव लिन पाउने विश्वास गरिएको छ।






