बर्दिया, असार १२ — लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानमा छापा मार्दै भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याइएका मालसामान तथा सवारीसाधन बरामद गरेको छ।
प्रहरीका अनुसार बर्दियाको बाँसगढी नगरपालिका–४ मटेरिया क्षेत्रबाट तन्ना, साडी, धोती तथा दरी लगायतका अन्दाजी १ लाख ९६ हजार रुपैयाँ बराबरका सामान बरामद गरिएको छ।
त्यसैगरी, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहा क्षेत्रबाट १३० थान लेडिज सुट बरामद गरिएको छ। उक्त सामानको अन्दाजी मूल्य १ लाख ३० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
यस्तै, बाँकेको खजुरा गाउँपालिका–७ गुनाना चोकबाट भे १ ख ४०३८ नम्बरको फोर्स गाडी तथा माउन्टेन डिउसहित विभिन्न मालसामान बरामद गरिएको छ। उक्त मालसामान र सवारीसाधनको अन्दाजी मूल्य १२ लाख ६३ हजार २४० रुपैयाँ रहेको छ।
बरामद गरिएका सम्पूर्ण मालसामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएका मालसामान तथा सवारीसाधनको कुल मूल्य १५ लाख ८९ हजार २४० रुपैयाँ रहेको छ। प्रहरीले सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि निगरानी र अभियानलाई थप प्रभावकारी बनाउँदै लगेको जनाएको छ।






