अफजल खान
बर्दिया,असार
स्वास्थ्य बिमाबाट दुई करोड बढी रकम भुक्तानी हुन बाँकी रहेको बर्दिया अस्पतालले जनाएको छ । सोमबार आयोजित वार्षिक समिक्षा कार्यक्रममा दुई करोड बढी रकम भुक्तानी बाँकी रहेको जनाईएको हो । बिमाबाट समयमा भुक्तानी नहुँदा खर्च धान्न अस्पताल विकास समितिलाई समस्या हुने गरेको जनाईएको छ । आर्थिक वर्ष ०८२/०८३ मा ३९ हजार ४ सय २ जना स्वास्थ्य बिमा गराएका बिरामीले अस्पतालमा उपचार सेवा लिएका छन् । मंसिर देखि असार महिनाको रु २ करोड ८२ लाख ८२ हजार ३ सय ७४ भुक्तानी हुन रकम भुक्तानी हुन बाँकी रहेको छ ।
एक वर्षमा विभिन्न कार्यक्रमबाट बिरामीलाई उपलब्ध गराईएको सेवाको प्रगति विवरण सामाजिक सेवा इकाईले सार्वजनिक गरेको छ । सामाजिक सेवा इकाईले ६ सय ७३ जना बिरामीलाई रु ९ लाख ७२ हजार १ सय ६६ बराबरको स्वास्थ्य उपचार सेवा दिएको छ । थाइलेसिमिया ३७ बिरामीलाई रु ५० हजार, हेमोडाइलेसिसका ३३ बिरामीलाई रु ७३ लाख ७२ हजार ५ सय र इमरजेन्सी रिफरका ६२ बिरामीलाई रु १ लाख ८७ हजार सेवा दिईएको जनाईएको छ । जेरियाट्रिक स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत १ हजार १ सय ५० बिरामीलाई रु १४ लाख ४० हजार २ सय ७७ बराबरको सेवा दिएको छ । ओसिएमसी १ सय ७९ जनालाई रु १ लाख ९९ हजार ४ सय १, सिकलसेल एनिमियाका १ सय ४३ बिरामीलाई रु २ लाख ३ सय १० बराबरको उपचार सेवा उपलब्ध गराईएको छ । यस्तै आमा सुरक्षा कार्यक्रम र निःशुल्क रक्त सञ्चार अन्तर्गतका ३ हजार २ सय ७४ बिरामीलाई रु २३ लाख ७२ हजार २ सय ५० बराबरको र पेनप्लस कार्यक्रम अन्तर्गत ४ लाख ४७ हजार ५ सय ४६ स्वास्थ्य सेवा उपलब्ध गराईएको सामाजिक सेवा इकाईका सहजकर्ता हेमन्त चौधरीले प्रस्तुतीकरण गर्नुभएको थियो ।
बिमाले गर्दा अस्पतालमा सेवाग्राहीको संख्या बढेको अस्पतालका मेसु डा. सुभाष पाण्डेयले बताउनु भयो । उहाँले भन्नुभयो,‘बिमाले एक लाखसम्म बिरामीले उपचार सेवा लिन सक्छन् । जसले कारण सबैले बिमा गराउन आवश्यक रहेको छ ।’
सामाजिक सेवा इकाईले विपन्नलाई निःशुल्क सेवा दिदाँ बजेट अपुग भएको अस्पताल विकास समितिका अध्यक्ष रविन्द्र कुमार यादवले बताउनु भयो । उहाँले भन्नुभयो,‘समितिका पदाधिकारीले सवारीसाधनलगायत सेवा सुविधा प्रयोग नगरी आगामी आर्थिक वर्षको लागि सामाजिक सेवा इकाइलाई २ लाख ५० हजार थपेका छौं । त्यस रकमले सामाजिक सेवा इकाईमार्फत विपन्नले सेवा सुविधा पाउनेछन् ।





