बर्दियामा अवैध माटो उत्खननमा प्रयोग भएका ४ सवारी साधन नियन्त्रण, रु. २ लाख ७५ हजार जरिवाना
अफजल खान / बर्दिया, साउन १३
बर्दियाको बढैयाताल गाउँपालिका–९ शक्तिनगरस्थित कपास फारमको सरकारी जग्गाबाट अवैध रूपमा माटो उत्खनन भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चार वटा हेभी इक्विपमेन्ट तथा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार साउन १२ गते बेलुका करिब ६ बजे इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी शितलाबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले अवैध उत्खननमा संलग्न चार वटा सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरमा राखेको थियो।
नियन्त्रणमा परेका सवारी साधनहरूमा माटो बोकेको म.प्र ०३००१ क २८०३ नम्बरको टिप्पर, म.प्र ०३००१ क २८०४ नम्बरको खाली टिप्पर, भे.१ क ११७७ नम्बरको जेसीबी र बा.प्र ०१००४ क ०४३१ नम्बरको स्काभेटर रहेका छन्।
प्रहरीले साउन १३ गते आवश्यक कारबाहीका लागि ती सवारी साधन बढैयाताल गाउँपालिकाको कार्यालयमा पठाएको थियो। गाउँपालिकाले रु. २ लाख ७५ हजार जरिवाना गरेपछि सम्बन्धित सवारी साधनहरू छाडिएको जिल्ला प्रहरीले जनाएको छ।




